एजेन्सी– क्रोएसियन विंगर एन्टी रेविकको एकमात्र निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित हात पारेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १–० ले पराजित गरेको हो।
रेविककले २५औं मिनेटमा स्यामुइल क्यास्टिलेजोको पासमा गोल गर्न सफल भएका थिए। जर्मन क्लब फ्रन्कफर्टबाट लोनमा मिलान आएका उनले यहाँ उच्च प्रदर्शन गरिरहेका छन्। उनले पछिल्लो ७ लिग खेलमा ६ गोल गरिसकेका छन्।
घरेलु टोलीका भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिच गोल नजिक पुगेर चुक्दा मिलान अग्रता दोब्बर पार्नबाट चुक्यो। त्यसपछि थप गोल निस्कन नसक्दा रेविकले पहिलो हाफमा गरेको गोल नै मिलानको जितमा निर्णायक बन्यो।
जितसँगै आठौं स्थानमा रहेको मिलानले टप सिक्समा रहेको हेलास भेरोनासँग अंक बराबरी गरेको छ। मिलानको २४ खेलबाट ३५ अंक छ। समान ३५ अंक रहेपनि हेलास भेरोना र पर्मा गोल अन्तरमा अघि रहेको हो। टोरिनो २७ अंक जोडेर १४औं स्थानमा छ।