एजेन्सी– दुई गोलले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को मान्यता नपाउदा लन्डन क्लब चेल्सीले म्यानचेस्टर युनाइटेडसँग हार बेहोरेको छ। चेल्सीले घरेलु मैदानमा युनाइटेडसँग २–० को हार बेहोरेको हो।
स्टामफोर्ड ब्रिजमा युनाइटेडका एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरे। प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा आरोना वान बिशाखाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयमा मिचेल बात्सुयाई र पेड्रो रोड्रिग्वेजले काउन्टर एट्याकमा मौका पाएपनि प्रहार गर्न ढिला गर्दा चेल्सी बराबरीबाट चुक्यो।
त्यसअघि २१औं मिनेटमा ह्यारी मिगुएर रातो कार्डबाट बचेको थियो। चेल्सीको टचलाइनमा लड्न पुगेका मिगुएरले मिचेल बात्सुयाईलाई अनावश्यक फउल गर्न पुगेका थिए। भिएआरमा उनले कुनै गलत आचरण नगरेको भन्दै उनी रातो कार्डबाट बचेका थिए।
दोस्रो हाफमा चेल्सीले बल पोजेसन राख्दै युनाइटेडलाई दवावमा राख्न सफल भएको थियो। ५४औं मिनेटमा कोर्ट जोउमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा चेल्सी बराबरीबाट चुक्यो। मासन माउन्टले क्लोज रेन्जबाट गरेको क्रसलाई कोर्ट जोउमाले गोल गरेपनि भिएआरमा चेल्सीका कप्तान सेसरले ब्रान्डन विलियम्सलाई धकेलिएको देखिएको थियो।
६६औं मिनेटमा ब्रनो फर्नान्डेजको पासमा ह्यारी मिगुएरले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। ७७औं मिनेटमा चेल्सीको अर्काे गोलमा भिएआर नै बाधक बन्यो। ओलिभर जिरुउडले गोल गरेपनि उनी अफसाइड ठहरिए। त्यसपछि पनि चेल्सीले केही मौका गुमाउदा घरेलु मैदानमा २–० ले पराजित हुन पुग्यो।
हारसँगै चेल्सी २६ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा पाँचौ स्थानको टोटेनहमसँग अंक दुरी बढाउने मौका गुमायो। युनाइटेड ३८ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ।