एजेन्सी– एसिसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगिताको नयाँ खेल तालिका सार्वजनिक भएको छ। फेब्रुअरी २९ देखि मार्च ७ सम्म थाईल्यान्डमा हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने बताइएको थियो।
त्यसैअनुसार खेल यसअघि नै खेल तालिका सार्वजनिक गरिएको थियो। तर कोरोना भाइरसका कारण चीन, भुटान र म्यानमारले सहभागी नजनाउने भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो। खेल राउन्ड रोबिनका आधारमा खेलाइने छ।
तालिककअनुसार नेपालले पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ। २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने नेपालले दोस्रो खेलमा १ मार्चमा हङकङको सामना गर्नेछ। तेस्रो खेलमा ४ मार्चमा थाईल्यान्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसंग खेल्नेछ। प्रतियोगिताको शिर्ष २ टिम एसिया कप छनोटमा प्रवेश गर्नेछन्।
इस्टर्न रिजन र वेस्टर्न रिजन प्रतियोगिताबाट २–२ टिम गरी ४ टिमले पाकिस्तानमा हुने एसिया कप टि–२० क्रिकेट प्रतियोगिताको लागि फाइनल छनोट खेल खेल्न पाउनेछन्।
उक्त प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भइसकेको छैन। टिममा कप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ सेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहोरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, शुशान भारी र किशोर महतो रहेका छन।
नेपाली टिमलाई प्रशिक्षकको रुपमा जगत टमाटाले सम्हाल्ने छन्। यसअघि टिम सम्हालिरहेका मुख्य प्रशिक्षक उमेश पटवालाले राजिनामा दिएका थिए।
