म्याग्दी– प्रशस्तै पर्यटकीय सम्भावना भएर पनि ठोस योजना र आवश्यक लगानीको अभावमा म्याग्दीको पर्यटन क्षेत्र फस्टाउन सकेको छैन।
स्थलमार्गका लागि मुस्ताङको प्रवेशद्वार, अन्नपूर्ण संरक्षण क्षेत्रको आकर्षकस्थल, प्राकृतिक सौन्दर्य र हिमाली दृश्य नियाँल्ने आँखिझ्याल मानिएको म्याग्दीमा पर्यटकलाई आकर्षित गर्ने दर्जनौँ स्थलहरु भए पनि सरोकारवालाको वेवास्ता र लगानीकर्ताहरुको अभावका कारण पर्यटकीय सम्भावनाले युक्त दर्जनौँ ठाउँ अझै पनि ‘भिल्लाका देशमा मणि’ को नियति भोग्न बाध्य भएका छन्।
राउन्ड अन्नपूर्णको आकर्षक गन्तव्य मानिएको घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, प्राकृतिक चिकित्सालयका रुपमा चर्चित सिङ्गा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरि र अन्नपूर्ण आधार शिविर तथा ढोरपाटन सिकार आरक्षलगायत केही स्थानमा केही वर्षयता सामान्य रुपमा भौतिक पूर्वाधार निर्माण भए पनि जिल्लाका अन्य पर्यटकीयस्थलहरु दशकौँ अघिकै अवस्थामा रहेका स्थानीयवासीले बताएका छन्।
म्याग्दीमा संसारकै सातौँ अग्लो हिमाल धौलागिरि पहिलो–आठ हजार १६७ मिटर, अन्नपूर्ण पहिलो–८,०८१ मिटर, गुर्जा, मानापाथीलगायत विभिन्न ११ वटा हिमाल रहेका छन्। यी हिमालको आधार शिविरसम्म पुग्नका लागि न व्यवस्थित पदमार्ग छ न त होटल, रेष्टुरेन्ट तथा होमस्टेको नै उचित प्रबन्ध रहेको छ।
म्याग्दीका ६ वटै स्थानीय तहका अधिकांश बस्तीबाट हिमशृङ्खला र हिमसौन्दर्यको दर्शन गर्न सकिने भए पनि स्थानीय सरकारले हिमाल दर्शनका लागि आवश्यक योजना र लगानीतर्फ कुनै कुनै चासो नदेखाएको पर्यटन व्यवसायीले बताएका छन्।
पछिल्लो पटक पहिचान गरिएका धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, खोप्रा, खयर, बयली, गुर्जा, पश्चिम धौलागिरि, टोड्के, लभ्लीहिल, मोहरेडाँडा, करबाकेलीलगायत पर्यटकीयस्थलमा भौतिक पूर्वाधार र प्रचारप्रसारको आवश्यकता रहेको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताएका छन्।
संसारको साताैँ अग्लो आठ हजार १६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि, अन्नपूर्ण पहिलो–८,०८१, गुर्जा–७,१९३, मानापाथीलगायत हिमाल म्याग्दीको सौन्दर्य बढाउने ‘चार चाँद’ हुन्। प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रुपमा वर्णन गरिने अन्नपूर्ण र धौलागिरि चक्रिय पदमार्गमा समेटिए पनि म्याग्दीले पर्यटनबाट अपेक्षाकृत लाभ लिन सकेको देखिँदैन।
‘प्रकृतिले म्याग्दीलाई दिएको उपहारलाई पर्यटकीयस्थलका रुपमा विकास गरेर समुदाय र देशको आर्थिक विकासमा रुपान्तरण गर्नपर्छ,’ धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले भने, ‘पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनकाे आवश्यकता छ।’
सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित भएपछि पर्यटक आगमन निराशाजनक रुपमा घटिरहेको छ। पुराना पदमार्गको संरक्षण तथा नयाँको पहिचानमा पनि स्थानीय सरकारले ध्यान दिन नसकेको पर्यटन व्यवसायी बाबुराम आचार्यले बताएका छन्। रासस