एजेन्सी– इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा पूनरागमन गर्दा इन्टर मिलान लाजियोसँग स्तब्ध बनेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित ब्रेसियालाई २–० ले पराजित गर्दै युभेन्ट्सले शीर्षस्थानमा पूनरागमन गरेको हो।
आइतबार राति नै लाजियोसँग २–१ स्तब्ध बन्न पुगेपछि इन्टर मिलान तेस्रो स्थानमा झरेको छ। युभेन्टसको २४ खेलबाट ५७ अंक छ। समान खेलबाटै लाजियोको ५६ तथा इन्टर मिलानको ५४ अंक छ। ब्रेसिया १६ अंक जोडेर १९औं स्थानमा छ।
खेलको ३७औं मिनेटमा फ्लोरिन एइले दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि ब्रेसिया १० खेलाडीमा समेटियो। जसको फाइदा युभेन्ट्सले उठायो। त्यसको दुई मिनेटपछि पाउलो डिव्यालाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रत दिलाए। ७५औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए।
अर्काे खेलमा लाजियाको जितमा सिरो इमोवाइल र सेर्गेज मिलिन्कोभिक साभिकले गोल गरे। इन्टरका एस्ली योङले गरेको गोल सान्त्वना बन्यो। इन्टर मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो।
४४औं मिनेटमा एस्ली योङले गोल गर्दै इन्टरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। ५०औं मिनेटमा सिरो इमोवाइलले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ६९औं मिनेटमा मिलिन्कोभिक साभिकले गोल गर्दै इन्टरलाई २–१ ले स्तब्ध पारे।