एजेन्सी– बेल्जियन फरवार्ड इडेन हजार्डले झन्डै दुई महिनापछि चोटबाट पूनरागमन गरेको खेलमा रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ। रियल घरेलु मैदानमा सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
बराबरीपछि रियालले शीर्षस्थानमा बार्सिलोनालाई एक अंकको पछि पारेको छ। रियालको २४ खेलबाट ५३ तथा समान खेलबाटै बार्सिलोनाको ५२ अंक छ। रियाललाई रोकेको सेल्टा २१ अंक जोडेर १७औं स्थानमा छ। रियालका टोनी क्रुस र कप्तान सर्जियो रामोसले गोल गरे। सेल्टाका फेडर स्मोलोभ र सान्टी मिनाले गोल गरे।
सान्टियागो बर्नबेउमा आइतबार राति भएको रियाल खेलको पाँचौ मिनेटमा फेडेर स्मोलोभको गोलबाट पछि परेको थियो। उनले इयागो आस्पासको पासमा गोल गर्दै सेल्टालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको शुरुमै रियालले बराबरी गोल फर्काउन सफल भयो। ५२औं मिनेटमा मार्सेलोको पासमा टोनी क्रुसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ६५औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियाललाई खेलमा २–१ को अग्रता दिलाए।
हजार्डलाई पेनाल्टी बक्समा सेल्टाका गोलरक्षक रुवेन ब्लान्कोले फउल गरेपछि रियालले पेनाल्टी पाएको थियो। जसलाई रामोसले सदुपयोग गरे। ८५औं मिनेटमा डेनिस सुआरेजको पासमा सान्टी मिनाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा रियाल सेल्टासँग बराबरीमा रोकिन बाध्यो बन्यो।
गत नोभेम्वरमा पीएसजीविरुद्धको च्याम्पियन्स लिगको समूह चरणमा चोट बोकेका हजार्डले पहिलो रोजाईमा मैदानमा उत्रने मौका पाएका थिए। उनलाई दोस्रो हाफमा भिनिसियस जुनियरले प्रतिस्थापन गरेका थिए।
अन्य नतिजा
ग्रानडाविरुद्ध रियल भालाडोलिड (२–१)
सेभियाविरुद्ध इस्पान्योल (२–२)
लेगानेसविरुद्ध रियल बेटिस (०–०)
एथ्लेटिको बिल्वओविरुद्ध ओसासुना (०–१)