दमौली– विदेशी खेलाडी चम्किदा दोस्रो ‘नवकप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि व्यास नगरपालिका–११ स्थित रामथुम्की युवा क्लबले हात पारेको छ। व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लवको आयोजनामा शनिबार दमौलीमा सम्पन्न फाइनल खेलमा व्यास नगरपालिका–१० स्थित अनन्त युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै रामथुम्कीले उपाधि चुमेको हो।
रामथुम्कीका लागि विदेशी खेलाडी डोमी डोमीले खेल शुरुवातको पहिलो मिनेटमै एक गोल गरेका थिए। त्यस्तै १८ मिनेटमा अर्का विदेशी खेलाडी म्याक्सले थप एक गोल गर्दै टिमलाई जिताएका छन्। गोल गर्ने अवसर प्राप्त भएपनि खेलाडीले त्यसलाई सदुपयोग गर्न नसक्दा अनन्तले उपविजेतामै चित्त बुझाउनु प¥यो।
उपाधिसँगै विजेता रामथुम्की युवा क्लबलाई नगद रु एक लाख १५ हजार ५ सय ५५, ट्रफी र उपविजेता अनन्त युवा क्लवलाई नगद रु ६६ हजार ६ सय ६६ र ट्रफी प्रदान गरिएको क्लवका अध्यक्ष सनम तामाङले जानकारी दिएका छन्। विजेताहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरे।
सो अवसरमा वाग्लेले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेकोमा जोड दिएका छन्। अनन्त युवा क्लव आयोजक नवयुवा क्लव (ए) लाई सेमिफाइनलमा ट्राइबेकर मार्फत् पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि ट्राइबेकरमा अनन्तले १५ र नवयुवाले १४ गोल गरेको थिए।
त्यस्तै रामथुम्की युवा क्लव केएमसिटीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमा एक गोलको अग्रता कायम गरेको केएमसिटीलाई दोस्रो हाफमा दुई गोल फकाउँदै रामथुम्कीले फाइनलको यात्रा तय गरेको थियो। रामथुम्कीका लागि दुवै गोल विदेशी खेलाडीले गरेका थिए । माघ २० गतेदेखि शुरु भएको प्रतियोगितामा २८ टिमको सहभागिता रहेको थियो।