एजेन्सी– वल्भ्स र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। घरेलु टोली वल्भ्स १० खेलाडीमा समेटिएको लेस्टरसिटीसँग रोकिएको हो।
बराबरीसँगै लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमउदा वल्भ्सले पनि छैटौं स्थानमा उक्लने अवसर खेर फाल्यो। बराबरीपछि लेस्टर २६ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा वल्भ्स ३६ अंक जोडेर सातौ स्थानमा रहेको छ । शीर्षस्थानको लिभरपुलको ७३ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । दुवैले एक खेल कम खेलेका छन्।
प्रतिस्पर्धात्मक खेलको शुरुवातमा घरेलु टोलीलाई बल पोजेसनमा दवावमा राखेपनि वल्भ्सले पहिलो पोस्ट आक्रमण बुनेको थियो। १०औं मिनेटमा पेड्रो नेटोले दुई डिफेन्डरलाई बिट गर्दै डिएगो जोटालाई दिएको पासमा उनको प्रहार लेस्टरका गोलरक्षकले बचाए।
४२औं मिनेटमा जोटाको अर्काे प्रहार बाहिरियो। ४४औं मिनेटमा वल्भ्सका विली वोलीकोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा घरेलु टोली अग्रता लिनबाट चुक्यो। गोलका लागि बल उपलब्ध गराउने जोटा अफसाइड ठहरिए।
६०औं मिनेटमा लेस्टरले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई कुनै मतलवै राखेनन्। ७६औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटियो। लेस्टरका हम्जा चौधरीले अनावश्यक ह्यान्ड गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउदै उनलाई मैदान बाहिर पठाए। तर, लेस्टर १० खेलाडीमा समेटिएको फाइदा घरेलु टोली वल्भ्सले उठाउन सकेन। त्यसपछि पनि थप गोल निस्कन नसक्दा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बने।