एजेन्सी– युवा खेलाडीद्वय आर्लिङ हालान्ड र जाडोन सान्चोले गोल गरेसँगै बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ। घरेलु टोली डर्टमन्डले फ्रन्कफर्टमाथि ४–० को सानदार जित निकालेको हो।
डर्टमन्डको फराकिलो जितमा हालान्ड र सान्चोसँगै लुकास्ज पिसजेक र राफायल गुरेरियोल गोल गरे। सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो। खेलको ३३औं मिनेटमा अचराफ हाकिमीको पासमा लुकास्ज पिसजेकले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाएका थिए।
४९औं मिनेटमा एक्सले विस्टेलको पासमा जाडोन सान्चोले गोल गरेपछि डर्टमन्डले खेलमा २–० को अग्रता बनायो। ५४औं मिनेटमा आर्लिङ हालान्डले आचरफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई फराकिलो जिततर्फ अग्रसर गराए। यसै विन्टरमा साल्जवर्गबाट डर्टमन्ड पुगेका हालान्डले बुन्डेस लिगामा ५ खेलमा ८ गोल गर्दै आफ्नो प्रभावशमली प्रदर्शनलाई जारी राखेका छन्। ७४औं मिनेटमा गुरेरियोल गोल गर्दै डर्टमन्डलाई ४–० को सानदार जित दिलाए।
जितसँगै डर्टमन्ड २२ खेलबाट ४२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको आरबी लेइपजिगको समान ४२ अंक रहेपनि गोल अन्तरमा तेस्रो स्थानका रहेको छ। शीर्षस्थानको बायर्नको ४३ अंक छ। फ्रन्कफर्ट २८ अंक जोडेर नवौं स्थानमा छ।