एजेन्सी– इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटिलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको थियो। जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्बसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको छ। सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा अपिलको लागि पुर्याएको छ। सिटीले यस किसिमको सजाय पाउँदा अचम्ति नभएको बताउँदै अपिल गर्ने बताएको छ।
सिटीले सन् २०१२ देखि २०१६ को बिचमा क्लबलाई आएको प्रायोजन र लेखा परिक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप लागेको थियो। त्यसबेला सिटीले प्रायोजन गरेभन्दा बढी रकम लेखा परिक्षणमा राखेको आरोप लागेको छ। यस कारवाहीसँगै सिटीले अर्को सिजनदेखि दुई वर्ष च्याम्पियन्स लिग र युरोप लिगमा सहभागिता जनाउन पाउने छैन।
यूईएफएको कारवाहीमा परेको सिटी प्रिमियर लिगमा पनि कारवाहीमा पर्ने सम्भावना छ। प्रिमियर लिगमा भने पोइन्ट घटाएर कुनै टोलीलाई कारवाही गर्ने प्रावधान छ। यसबारे प्रिमियर लिगले पनि छिट्टै आफ्नो निर्णय सुनाउने छ।