काठमाडौं– नेपाली राष्ट्रिय महिला टोली एवंम एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बाको निर्णायक गोलमा गोकुलम केराला एफसीले शुक्रबार भारतीय महिला लिग (आईडब्लूएल) को उपाधि जितेको छ।
प्रतिस्पर्धात्मक फाइनलमा क्रिप्सा एफसीलाई ३–२ ले हराउँदै गोकुलम च्याम्पियन बनेको हो। २–२ को बराबरीको अवस्थामा सावित्राले गाेकुलमकाे लागि निर्णायक गोल गरेकी थिइन् । उनले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल गरेकी थिइन्। मनीषाको पासमा उनले गोल गरेकी हुन्।
बैंगलोर रंगशालामा खेलको पहिलो हाफमा गोकुलमले क्रिप्सा एफसीविरुद्ध २–१ को अग्रता बनाएको थियो। दोस्रो मिनेटमा पर्मेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५ औं कमलादेवीले गोल थपेकी थिइन्।
३४ औं मिनेटमा क्रिप्साका लागि कप्तान दाङमय ग्रसले गोल फर्काएकी थिइन्। क्रिप्साका लागि रतन बालादेवीले ७३ मा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएकी थिइन्।
प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन्। सावित्राले लिगका सबै खेलमा गोल गरिन्। उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन्। प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन्।
सावित्राको टोलीले उनको राष्ट्रिय टोली तथा एपिएफकै सहकर्मी अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गरेको थियो। सावित्राले पनि अनितासँगै गत सिजन सेथुबाट खेलेकी थिइन्। त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन्।