काठमाडौँ, २७ माघ – नेपाली कांग्रेसले पर्साको वीरगञ्ज महानगरपालिकास्थित घण्टाघरमा वीपी उद्यान पार्क निर्माणका लागि छुट्याइएको जमीनमा शहीद स्मृतिपार्क शिलान्यास गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
नेपाली कांग्रेसको माघ २४ गते बसेको केन्द्रीय समितिको बैठकले यससम्बन्धमा निर्णय गर्दै वीपी कोइरालाका नाममा वीरगञ्जमा गर्ने निश्चित भएको वीपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
प्रदेश नम्बर–२ को सरकारले गरेको उक्त निर्णय फिर्ता लिई यथास्थितिमै कायम राख्न र यथाशीघ्र वीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको यो निर्णय सार्वजनिक गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नेताहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताल नामेट गर्ने केन्द्रीय सरकारको प्रयास भर्खरै असफल भएको छ। यही बेला त्यही प्रवृत्ति वीरगञ्जमा देखिएको छ। नेपाली माटोमा लोकतान्त्रिक विचार र संस्कारलाई प्रविष्ट गराउने वीपी कोइरालाको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरिद भइसकेको र प्रक्रिया अघि बढेको तथ्य नजरअन्दाज गरेर प्रदेश २ का मुख्यमन्त्रीले अर्कै नाममा पार्क निर्माण गर्न गत माघ १६ मा शिलान्यास गर्नु दुःखद त छ नै घोर आपत्तिजनक छ।’
शर्माले नेपाल यातायात संस्थानले वीरगञ्जमा रहेको आफ्नो दश विगाह जग्गा बिक्री गर्न टेण्डर आह्वान गरेको र व्यक्तिले खरिद गर्ने निश्चित भएपछि तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाले त्यसमा प्रष्ट विमति जनाएको उल्लेख विज्ञप्तिमा भनिएका छन्, ‘तत्कालिन उपप्रमुख अजय द्विवेदीको नेतृत्वमा नेपाली कांग्रेस, तत्कालिन नेकपा (एमाले), राप्रपा, सद्भावना लगायतका राजनीतिक दल एवं उद्योग वाणिज्य संघ वीरगञ्जको सहभागितामा बृहत प्रदर्शन भएको थियो भने सोही समय नगर प्रमुख माधवलाल श्रेष्ठको नेतृत्वमा वीरगञ्जको प्रतिनिधि मण्डल प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएको थियो।’
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वीरगञ्जबासीको भावना बुझेपछि आश्वासन दिँदै ‘त्यो जग्गा उपमहानगरपालिकाको हुनेछ र तपाईंहरुको प्रस्ताव बमोजिम त्यहाँ वीपी उद्यान बनाउने घोषणा म आफै वीरगञ्ज आएर गर्नेछु’ भएको प्रसंग पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ। सोही अनुरुप कोइरालाले वीरगञ्ज पुगेर सो जग्गामा वीपी उद्यान निर्माण गर्ने घोषणा समेत गरेका थिए।
के छ कांग्रेस प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा?
–नेपाल यातायात संस्थान र वीरगञ्ज उपमहानगरपालिकाबीच दश करोड रुपैयाँमा सो दश विगाह जग्गा खरीदबिक्रीको सम्झौता भयो। पहिलो किस्ताका रुपमा आधा रकम रुपैयाँ पाँच करोड उपमहानगरपालिकाले यातायात संस्थानलाई बुझायो। त्यसबेला २०४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख र उपप्रमुख हुनुहुन्थ्यो।
–२०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार श्री विमल श्रीवास्वत नगर प्रमुखमा निर्वाचित हुनु भयो। यातायात संस्थानलाई तिर्न बाँकी रकम रुपैयाँ पाँच करोड उहाँको कार्यकालमा नगरपालिकाले चुक्ता गर्यो। तर, जग्गा पास गर्ने कार्य बाँकी रह्यो।
–२०५९ सालमा शाही कु पश्चात तत्कालिन राजा ज्ञानेन्द्र शाहको नेतृत्वको सरकारले श्री गोपाल गिरीलाई वीरगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नियुक्त गर्यो। राजाको निरंकुश सत्ताको त्यो समयमा पनि प्रमुख पदमा नियुक्त भएर शपथग्रहण लगत्तै गिरी पुग्नु भयो सो जग्गामा र चाँडै नै वीपी उद्यानको नाममा जग्गा पास गरेर निर्णय प्रक्रिया अघि बढाउने उद्घोष वीपी उद्यानकै बोर्ड राखेर गर्नु भयो।
–२०६० कात्तिक २७ गते तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले एक समारोहका बीच वीरगञ्जमा वीपी उद्यानको शिलान्यास गर्नु भयो। शिलान्यास भइसक्दा पनि जग्गा उपमहानगरपालिकाको नाममा नामसारी हुन बाँकी नै थियो।
–वीपी उद्यान शिलान्यासको दुई महिनापछि वीरगञ्ज उपमहानगरपालिकाको नाममा जग्गाको रजिष्ट्रेशन पास भयो। २०६० पुष २४ गते जारी धनीपूर्जामा लेखिएको छ, ‘मन्त्रीपरिषद्को २०६०/०७/२७ को निर्णय बमोजिम उपमहानगरपालिकाले बेचविखन एवं हक हस्तान्तरण गर्न नपाउने गरी, वीपी उद्यानबाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने।
–वीपी उद्यानका नाममा जग्गा नामसारी गर्ने प्रक्रियाको सक्रिय नेतृत्व गर्नु भएका तत्कालीन नगरप्रमुख गोपाल गिरीको रहस्यमय ढंगले हत्या वीपी उद्यानको निर्माण प्रयोजनका लागि उपमहानगरपालिकाको नाममा जग्गा पास भएको ठिक एक सातापछि १ माघ २०६० मा भएको थियो। तत्कालीन माओवादीले हत्या गरेको भनिएपनि सो घटना जग्गापास भएको लगत्तै भएको कोणबाट विश्लेषण गरी गम्भीर र गहिरो छानवीन हुनु पर्ने देखिन्छ।
–यसरी वीपी कोइरालाका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ सोही प्रयोजनका लागि जग्गा प्रबन्ध र सो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने प्रतिबन्धात्मक व्यवस्था भएको, वीपी उद्यानकै नाममा शिलान्यास भइसकेको यावत तथ्य नजर अन्दाज गरेर अघि बढ्ने दुस्साहस गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। अतः तत्काल पुरानो निर्णय बमोजिमकै प्रक्रियामा अघि बढ्न तिनै तहको सरकारलाई नेपाली कांग्रेस गम्भीर ढंगले सचेत गराउन चाहन्छ।
–प्रश्न एउटा उद्यानको मात्रै होइन, प्रश्न नेपाली राजनीतिक इतिहासका सर्वाधिक प्रिय राजनीतिज्ञको नामको पनि हो। तर, प्रश्न उहाँको नामको मात्रै होइन मूल प्रश्न वर्तमान नेपाली राजनीतिमा बढ्दै गएको निषेधको प्रवृत्तिको पनि हो। अतः नियतवश गरिएको वीपी नामप्रतिको अवहेलनाको गम्भीर दुस्साहसलाई तत्काल सच्याउन नेपाली कांग्रेस आग्रह गर्दछ। अन्यथा तत्कालै संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नु पर्ने चेतावनी पनि दिन चाहन्छु।