एजेन्सी– राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले बिहीबार पर्सिजा जकार्ताका लागि गोल गरेका छन्। जकार्ताले मलेसियाली क्लब सबाह एफए माथि २–० को जित निकाल्दा रोहितले टोलीका लागि दोस्रो गोल गरे।
पर्सिजाले प्रिसिजन अन्तर्गत इस्ट जाभा गभर्नर्स गोल्डकपमा सहभागिता जनाइरहेको छ। लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पर्सिजाका लागि फरवार्ड मारको सिमिच र रोहितले १–१ गोल गरे। यसअघि समूह चरणको पहिलो खेलमा पर्सिजाले पर्सेला लामोंगानलाई ४–१ ले पराजित गरेको छ।
पर्सिजाको २ खेलमा ६ अंक छ। अब समूहको अत्निम खेलमा पर्सिजाले समान ६ अंक बोकेको अरिमा एफसीसंग प्रतिस्पर्धा गर्नेछ। यस खेलमा विजयी भएको खण्डमा टोली समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ। अरिमाविरुद्धको खेल शनिबार हुने कार्यक्रम रहेको छ।
सन् २०१३ मा रोहित पहिलो पटक पर्सिजामा आबद्ध भएका थिए। पछि २०१५ मा मलेसियाका सुपर लिग टोलीमा आबद्ध हुँदा उनको घुँडामा चोट लागेको थियो। त्यसपछि भने उनी झन्डै एक वर्ष भन्दा लामो समय मैदान बाहिर बस्नु परेको थियो।
चोट मुक्त भएर २०१७ मा पुनः उनी पर्सिजामा आबद्ध भएका थिए। दुई वर्षअघि पर्सिजालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। रोहितले यसै सिजनको सुरुवातमा क्लबसँग २ वर्षको लागि सम्झौता नवीकरण गरिसकेका छन्।