एजेन्सी– अन्तिम समयमा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विवादास्पद पेनाल्टी गोलसँगै युभेन्टस कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलानसँगको हारबाट जोगिएको छ। युभेन्टसले १० खेलाडीमा समेटिएको घरेलु टोली एसी मिलानलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो।
मिलानोमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। २२औं मिनेटमा डेभिड कालाब्रियाको प्रहारलाई युभेन्टसका गोलरक्षक जियानलुजी बुफोनले बचाए। २९औं मिनेटमा एन्टी रेविकको प्रहारलाई बुफोनले बचाए।
३६औं मिनेटमा जुवान कोर्डाडोको प्रहारलाई मिलानका गोलरक्षक जियानलुजी डोनारुम्माले बचाएपछि युभेन्टस अग्रता लिनबाट चुक्यो।
५९औं मिनेटमा एन्टी रेविकको पासमा ज्लाटन इभ्राहिमोभिचको प्रहारलाई बुफोनले सहजै बचाए। ६१औं मिनेटमा एन्टी रेविकको गोल गर्दै मिलानलाई अग्रता दिलाए। स्यामुइल क्यास्टिलेजोको क्रस पासमा रेविकको भली प्रहार गोलमा परिणत भएको थियो।
७१औं मिनेटमा मिलान १० खेलाडीमा समेटिन पुग्यो। थियो हर्नान्डेजले पाउलो डिब्यालालाई फल गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाएका थिए। मिलान १० खेलाडीमा समेटिएपछि युभेन्टसले खेलमा पकड बनाउदै एक गोल गर्न सफल भयो । ८४औं मिनेटमा डिब्यालाले खेललाई बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो। ८८औं मिनेटमा रोनाल्डोको ओभर हेड किकमा डेभिड कालाब्रियाले ह्यान्ड गरेको भन्दै युभेन्टसले पेनाल्टीको अपिल गर्यो।
रोनाल्डोको प्रहारमा डेभिडको आर्ममा लागेपनि उनले बलतिर हेरेको थिएनन्। तर, रेफ्रीको भिएआरको सहायता लिदै युभेन्टसलाई विवादास्पद पेनाल्टी दिए। त्यही विवादास्पद पेनाल्टीमा रोनाल्डो चुकेनन्। र युभेन्टसलाई हारबाट जोगाए।सेमिफाइनलको दोस्रो लेग युभेन्टसको मैदानमा ५ मार्चमा हुनेछ।