एजेन्सी– लिग वान क्लब डिजोनमाथि गोलको वर्षा गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पीएसजीले घरेलु टोली डिजोनलाई ६–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
पीएसजीको आधा दर्जन गोलमा पाब्लो सारावियाले दुई गोल गर्दा केलियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरे। दुई गोल उपहार पाएको थियो। घरेलु टोलीका मुनिर चोउएरले गरेको गोल सान्त्वना बन्यो।
बुधबार राति भएको खेलको पहिलो मिनेटमा नै पीएसजी वेस्ली लोउटोओको आत्मघाती गोलबाट अघि बढेको थियो। १३औं मिनेटमा मुनिर चोउएरले बराबरी गोल फर्काए। ४४औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–१ को अग्रता बनायो। दोस्रो हाफमा पीएसजीले चार गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो।
५०औं मिनेटमा पाब्लो सारावियाको पासमा कप्तान थियागो सिल्भाले गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए। त्यसपछिको दुई गोल पाब्लो सारावियाको नाममा रह्यो। ५५औं मिनेटमा सारावियाले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो। ८६औं मिनेटमा सिनोउ कोउलीवालीले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ५–१ को आरामदायी अग्रता बनायो।
९०औं मिनेटमा सारावियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरेपछि पीएसजीले खेलमा ६–१ को फराकिलो जितसँगै अन्तिम चारको यात्रा तय गर्न सफल भयो।
अर्काे क्वाटरफाइनलमा लियोनले मार्सेलीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ। यस्तै रेनिसले एएसएम बेलफोर्टलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको छ । अर्काे सेमिफाइनलमा आज राति इपिनल र सेन्ट इटिएनबीच प्रतिस्पर्धा हुँदैछ।