एजेन्सी– आइसीसी विश्वकप क्रिकेट २०२३ को फेब्रुअरीदेखि भारतमा सञ्चालन हुनेछ। १० टिमको सहभागिता रहने प्रयोगितामा भारतले आयोजक राष्ट्रको हैसियतमा स्थान पक्का गरिसकेको छ।
प्रतियोगितामा सहभागि हुने अन्य ९ टिमहरु विभिन्न क्रिकेट प्रतियोगिताबाट छनोट गरिने छ। तीमध्ये ७ टिम आइसीसी विश्वकप सुपर लिगबाट छनोट हुनेछन्।
सुपर लिगमा आइसीसीको पूर्ण सदस्यता प्राप्त गरेको अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाबे र आइसीसी विश्व क्रिकेट लिग च्याम्यिन्सिप २०१५–१७ को विजेता नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुनेछ।
यी १३ राष्ट्रमध्ये सुपर लिगमा टप ७ मा पर्ने देशले (भारतबाहेक) विश्वकप २०२३ मा स्थान बनाउनेछन्। तालिकाको शीर्ष ७ भन्दा तल बाँकी रहेका देशहरुले विश्वकप यात्राको लागि भने विश्वकप छनोट खेल्नुपर्ने हुन्छ।
नेपाल अहिले आइसीसी विश्वकप लिग २ मा ओमान, स्कटल्याण्ड, युएई, नामेबिया, पपुवा न्यूगिनी र अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। ७ राष्ट्र सम्मिलित लिग २ बाट शीर्षस्थान हासिल गरेको टिम सुपर लिगमा बढुवा हुने सम्भावना रहेको छ।
यसो भएमा उक्त टिमले माथि उल्लेखित सुपर लिगमा सम्मिलित टिमहरुसँग प्रतिस्पर्धा गर्नेछन्। आइसीसी विश्वकप क्रिकेट लिग २ को शीर्ष ३ स्थान हासिल गर्ने राष्ट्रले विश्वकप छनोटमा स्थान बनाउनेछन्।
त्यस्तै शीर्ष ३ मा पर्न असफल टिम प्ले अफमा झर्नेछन्। विश्व क्रिकेट लिगमा २१ देखि ३१ स्थानमा रहेका टिमहरुले च्यालेन्ज प्रतियोगिता खेल्नेछन् र त्यसबाट शीर्ष २ मा पर्ने टिम प्ले अफमा पुग्नेछन्।
प्ले अफमा आइसीसी विश्वकप लिग २ को अन्तिम ४ मा रहेका टिम र च्यालेन्स प्रतियोगिताको शीर्ष २ टिम गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। तीमध्ये प्ले अफको शीर्ष २ स्थान हासिल गर्ने टिम विश्वकप छनोटमा पुग्नेछ।
यससँगै विश्वकप छनोट खेलमा सुपर लिगबाट झरेका ५ टिम, लिग २ बाट बढुवा भएका ३ टिम र प्ले अफबाट आएका २ टिम गरी १० टिमबिच प्रतिस्पर्धा हुनेछ। १० टिममध्ये विश्वकप छनोटको शीर्ष २ स्थानमा पर्ने टिमले विश्वकप खेल्न पाउने छ।
नेपालको सम्भावना कति?
नेपाल अहिले आफूँसहित ७ राष्ट्र सम्मिलित आइसीसी विश्वकप क्रिकेट लिग २ मा प्रतिस्पर्धा गरिरहेको छ। लिग २ मा प्रत्येक देशले ३६ एकदिवसीय क्रिकेट खेल्नेछन्।
यदि नेपाल लिग २ को शीर्ष ३ मा पर्न सकेमा नेपालले सीधै विश्वकप छनोट खेल्न पाउने छ र छनोट खेलमा सुपर लिगबाट झरेका ५ टिम, लिग २ बाट गएका आफूँबाहेक २ टिम र प्ले अफबाट आएका २ टिमसँग प्रतिस्पर्धा गर्नेछ र छनोटको शीर्ष २ मा परेमा विश्वकप खेल्नेछ।
यदि नेपाल लिग २ को शीर्ष ३ मा पर्न नसके पनि विश्वकप यात्रा भने टुंगिने छैन। शीर्ष ३ मा पर्न असफल भएमा नेपाल प्ले अफमा झर्नेछ र प्ले अफमा लिग २ बाट आएका आफूँबाहेक ३ टिम तथा च्यालेन्ज प्रतियोगिताबाट आएका २ टिमसँग भिड्नेछ।
प्ले अफको शीर्ष २ मा पर्न सकेमा विश्वकप छनोट खेल्न पाउनेछ। र छनोटबाट शीर्ष २ मा परेमा विश्वकप खेल्नेछ। यदि नेपाल लिग २ को शीर्ष ३ मा पर्न सकेन र प्ले अफ खेल्दा त्यसको शीर्ष २ मा पनि पर्न सकेन भने नेपालको विश्वकप यात्रा टुंगिने छ।
लिग २ मा अहिलेसम्म ४ खेल खेलेको नेपाल २ हार र २ माजित निकाल्दै तालिकाको छैटौं स्थानमा छ। १० खेलमा ८ मा जित र २ मा हार बेहोरेको ओमान शीर्षस्थानमा रहँदा १२ खेलबाट ६ जित र ६ हार बेहोरेको अमेरिका दोस्रो स्थानमा छ।
त्यस्तै ८ खेल खेलेको स्कटल्याण्ड ४ जित, ३ हार र एक बराबरीको साथ तेस्रो स्थानमा रहँदा नामेबिया ७ खेलबाट ४ जित र ३ हारको साथ चौथो स्थानमा छ। सातै खेल खेलेको युएई ३ जित, ३ हार र एक टाइका साथ पाँचौं स्थानमा रहेको छ। त्यस्तै ८ खेलेकाे पपुवा न्यूगिनी सबै खेलमा पराजित हुँदे तालिकाकाे पुच्छरमा छ।
तालिकालाई हेर्दा नेपालले सबैभन्दा कम खेल खेलेको छ। ३६ खेलमध्ये ४ खेल मात्र खेलेको नेपाल बाँकि ३२ खेलमा राम्रो गर्न सकेमा सजिलै विश्वकप छनोटमा पुग्नेछ।