काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्कम सिरीजको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालले शानदार जित निकालेको छ। बुधबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो।
अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपालको लागि पारस खड्काले १२ बलमा २० रन, दीपेन्द्र सिंह ऐरीले ११ बलमा १५ रन बनाए भने ज्ञानेन्द्र मल्लले १ रन बनाए। ओपनर सुबाश खकुरेल डक आउट भएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा अलआउट हुँदै मात्र ३५ रन बनाएको थियो। उसको लागि जेभियर मार्सलले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अमेरिकाले बनाएको ३५ रन एकदिवसीय क्रिकेटको सबैभन्दा कम योगफल हो।
नेपालको लागि स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १६ रन दिँदै ६ विकेट लिए भने सुशन भारीले ३ ओभरमा ५ रन दिँदै ४ विकेट लिए।