काठमाडौं, २६ माघ – सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते हुनुभएका ५ नं प्रदेशसभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सभामुखले आज बिहान भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर सघन उपचार कक्षमा उपचार गराइरहनुभएका सांसद वलीको स्वास्थ्यस्थितिबारे उनको उपचारमा संलग्न चिकित्सकबाट जानकारी लिएका हुन्।
सांसद वली गम्भीर घाइते भएपनि अब खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका सभामुखको सचिवालयले जनाएको छ । उनले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन।
आजै नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले पनि उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुका घोराही-लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए।