काठमाडौं – महेन्द्र सिंह धोनी, भारत मात्र होईन विश्वकै सफलतम क्रिकेटरमध्येका एक हुन्। आक्रामक व्याटिङ र तिक्ष्ण विकेटकिपिङका लागि परिचित धोनी ‘कप्तान कुल’ भनेर पनि चिनिन्छन्।
२००७ देखी २०१६ सम्म भारतीय क्रिकेट टिमको कप्तानी गर्ने क्रममा उनले भारतीय क्रिकेट टिमलाई नयाँ उचाँईमा पुर्याए। यसक्रममा उनले विश्वकप जित्नेदेखी लिएर धेरै ठुला उपलव्धीहरु भारतलाई दिलाए। तर, उनी २०१९ मा भएको आईसिसि विश्वकपदेखी क्रिकेटबाट टाढा छन्।
टेस्ट क्रिकेटबाट २०१४ मा नै सन्यास लिए पनि एकदिवसिय र टि–ट्वान्टीबाट सन्यास घोषणा नगरेका धोनी अहिले भारतीय टिमभन्दा बाहिर छन्। धोनीले कप्तानी त्यागेपनि विराट कोहलीको छायाँ कप्तानको रुपमा रहँदै आएका थिए।
रिषभ पन्तमाथी प्रयोग
दिल्लीको लागि घरेलु क्रिकेट खेल्दै आएका रिषभ पन्त (२२) क्षमतावान खेलाडी हुन्। उनको व्याटिङ र विकेटकिपिङको राम्रो प्रशंसा हुँदै आएको छ। आईपिएलमा दिल्ली क्यापिटल्सका लागि खेल्ने उनी टिमका नियमित र महत्वपुर्ण सदस्य हुन्।
धोनीजस्तै आक्रामक व्याटिङ गर्न माहिर पन्त विकेटकिपीङमा पनि तिक्ष्ण नै छन्। यहि कौशलताका कारण धोनीको स्थानमा भारतीय क्रिकेट टिमका चयनकर्ताहरुले उनलाई टिममा विकेटकिपर व्याट्सम्यानको रुपमा चयन गरेका थिए। अन्तराष्ट्रिय क्रिकेटमा पन्तको आगमनसँगै उनलाई सञ्चारमाध्यम, क्रिकेट विश्लेषर दर्शकहरुले ‘टिम ईन्डियाको नयाँ धोनी’को रुपमा चर्चा गर्न थालेका थिए।
क्षमतावान हुँदाहुँदै पनि अन्तराष्ट्रिय क्रिकेटमा भने उनले निरन्तर निराशाजनक प्रदर्शन गर्दै आएका छन्। एकाध खेलमा मात्र उनको व्याट चलेको छ भने विकेटकिपिङ पनि अपेक्षाअनुसार गर्न सकेका छैनन्। यद्दपी उनलाई कप्तान विराट कोहली, चयनकर्ता र टिम व्यवस्थापनले बारम्बार मौका दिँदै आएको थियो। तर, यसपटक भने कथामा ‘ट्विस्ट’ आएको छ।
कप्तान, व्याट्सम्यान र विकेटकीपर केएल राहुल
केएल राहुल हुन त विशुद्ध व्याट्सम्यान हुन्, तर, न्युजिल्याण्डबिरुद्दको यो टि–ट्वान्टी श्रृखंलामा कप्तान कोहली र टीम व्यवस्थापनले उनलाई फुल टाइम विकेटकीपरको रुपमा प्रयोग गर्यो र उनले आफुँलाई प्रमाणित पनि गरेर देखाए। यसअघि अष्ट्रेलियाबिरुद्दको एकदिवसिय श्रृखंलामा नियमित विकेटकिपर रिषभ पन्त चोटिल भएपछि राहुलले मौका पाएका थिए।
यसबाहेक राहुलले यो श्रृखंलामा व्याट्सम्यानको रुपमा पनि शानदार प्रदर्शन गर्दै ‘म्यान अफ दि सिरिज’ को उपाधी जिते। सबैभन्दा रोमाञ्चक त्यतिबेला भयो जब अन्तिम खेलमा नियमित कप्तान कोहली गैरमौजुदगीमा कप्तानी सम्हालिरहेका उपकप्तान रोहीत शर्मा पनि घाईते हुँदै मैदानबाट बाहिरिएपछि राहुललाई कप्तानी दिईयो र उनले अलिकती पनि कोहली र रोहीतको कमी महसूस हुन दिएनन् र भारतलाई जीत दिलाए।
पाँचौ खेलको क्रममा जसरी राहुलले ‘फील्डिंग सेट’ गरे र आफ्ना बलरहरुको उपयोग गरे त्यो कमालको थियो।
न्यूजील्याण्डबिरुद्द जब अन्तिम खेलमा केएल राहुललाई कप्तानी दिइयो, उनले पहिलो खेलमा कप्तानी गर्दै भारतलाई सात रनले जीत दिलाए। भारतको लागि यो श्रृखंलामा उनले सबैभन्दा बढी २ सय २४ रन बनाए भने विकेटकीपरको रुपमा उनले विकेटको पछाडी पनि शानदार खेल देखाए र पूरै श्रृखंलाको दौरानमा कुल चार विकेट लिए जसमा तीन वटा क्याच र एउटा स्टम्पीङ्ग सामिल थियो।
यसरी उनले आफुँलाई हरेक क्षेत्रमा प्रमाणीत गर्दै जाँदा रिषभ पन्तको क्रिकेट ‘करियर’ तर धरापमा परेको छ नै अर्कातिर राहुललाई ‘टिम ईन्डियाको नयाँ धोनी’को रुपमा पनि हेर्न थालिएको छ।