काठमाडौं– सांसदहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै सफा बनाउनुपर्ने जनाएका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद जितेन्द्र नारायणदेवले आयोगलाई नै पहिले भ्रष्टाचार मुक्त बनाउनुपर्ने भएकाले त्यस सम्बन्धी प्रावधान संशोधन विधेयकमा राखिनुपर्ने बताए।
छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण बुुझाउन नपर्ने व्यवस्था गरेकामा उचित नभएको बताए। सांसद वृषेशचन्द्र लालले अनुचित कार्यलाई प्रोत्साहन गर्ने गरी प्रावधान ल्याइएको जनाउँदै आयोगको पारदर्शिताबारे विधेयकले बोल्नुपर्ने जनाए।
कुशासनका कारण प्रतिगमन आउँछ र त्यो भ्रष्टाचारको घोडामा चढेर आउँछ भनेर आफूले भन्दै आएको स्मरण गर्दै उनले त्यसको झल्को केही समयअघि ‘ललिता निवास प्रकरणमा अख्तियार राजनीतिक संकेत पर्खेर बसेको’ भन्ने समाचारले दिएको तर्क गरे।
सांसद प्रमिला कुमारी र जीतेन्द्रनारायण देवले भ्रष्टाचारमुक्त मुलुक बनाउने हो भने आयोगलाई नै भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए। सांसद ठगेन्द्रप्रकाश पुरीले वियधेक समय सान्दर्भिक भएको उल्लेख गरे।