काठमाडौँ, २५ माघ – भारतका लागि नवनियुक्त नेपाली राजदूत नीलाम्बर आचार्यले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले ईपीजीको प्रतिवेदन तयार हुनु नै अहिलेसम्मको ठूलो उपलब्धि भएको बताए।
आचार्यले भने, ‘प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि हो। दुई देशका बीचमा उच्चस्तरबाट सहमति हुनु, सन् १९५० को सन्धिलगायत सम्पूर्ण सन्धि, सम्झौताको पुनरवलोकन गरेर के–के कुरामा कस्तो सुधार गर्नुपर्छ भनेर त्यसलाई हेर्न सहमत हुनु नै ठूलो उपलब्धि हो।’
भारत सरकारलाई ६ महिना बित्दा पनि प्रतिवेदन बुझाउन नसकिएको विषयलाई प्रस्ट पार्दै आचार्यले भने, ‘समयमै प्रतिवेदन बुझाउन सकिएन भनेर भन्नुभन्दा पनि केही समय धैर्यता गर्नुपर्ने हुन्छ। प्रतिवेदन बुझ्दैनन्। बुझाउन सकिँदैन भनेर शङ्कैशङ्कामा पर्ने हो भने त्यसले परिणाम निस्कँदैन, केही अप्ठ्यारालाई हामीले बुझिदिएर धैर्यसाथ काम गर्नुपर्छ। भारतले प्रतिवेदन बुझ्दैनौँ त भनेको छैन नि ! अध्ययन गर्दै होलान्। हेर्दै होलान्। उपयुक्त वातावरण र समयको पर्खाइमा होलान्।’
भारतसँगको व्यापारघाटा घटाउनका निम्ति भारतबाट नेपालमा संयुक्त आयोजनाहरूमा लगानी गरेर उत्पादन बढाउनुपर्ने उनको धारणा छ। उनले भने, ‘उत्पादन बढाएर हाम्रा वस्तुहरू त्यहाँ निर्यात गर्नुपर्छ। अहिलेकै समयमा पनि सीमामा के कति अप्ठ्यारा छन्? धेरैजसो क्वारेन्टाइनको समस्या छन्। धेरैजसो अन्य झन्झटहरू छन् भन्छन्। के कति अप्ठ्यारा छन्, समस्याको समाधान गरिनुपर्छ।’
राजदूत आचार्यले भारतसँगको व्यापार घाटा नेपालका निम्ति अत्यन्तै कहालिलाग्दो भएको बताए। उनले भने, ‘दुई देशबीचका अप्ठ्याराहरू हटाउँदै नयाँ सम्भावनाहरू, नयाँ उत्पादन, नयाँ सेवाको आदान–प्रदानलाई बढावा दिनुपर्छ, मेरा प्राथमिकता त्यसैमा हुनेछ।’
दुई देशबीचको वार्ता तथा संवादमार्फत केही समस्या र अप्ठ्यारा भए हटाउन पहल गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘हिजोको कुरा कोट्याउनुभन्दा हिजोको कुराबाट पाठ सिकेर भविष्यलाई हेर्ने हो। भविष्यमा कसरी हामीले नेपालको राष्ट्रिय हितका निम्ति अगाडि बढ्न सक्छौँ भन्ने कुरालाई हेरेर काम गर्ने हो। त्यसैले नेपाल सरकारको परराष्ट्र नीति, निर्देशन र प्राथमिकताअनुसार राजदूतहरूले आफ्नो काम गर्ने हो। म पनि त्यही गर्छु।’