काठमाडौं– सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ।
नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो। सडक विभागको अनुसार चिनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको छ। सडक विभाग विकास समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले भने कम्पनीले अहिले आयोजना स्थलसम्म पुग्ने पुहँच सडक निर्माण शुरु गरिसकेको छ।
सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच प्रतिशत र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ। आयोजना हेर्ने गरी क्याम्प कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको उनले जनाए। उनले भने, “कम्पनीले आवश्यक तयारीको काम गरिरहेको पाइएको छ।”
निर्माणस्थलमा झण्डै ८० जनशक्ति कार्यरत छन्। तीमध्ये कतिपय नेपाली र कतिपय चिनियाँ छन्। सुरुङ निर्माण नेपालका लागि नयाँ भएकाले विभागले तीन जना इञ्जिनीयर अनुभवका लागि पठाउने भएको छ। उनले भने, ‘त्यो अनुभव भविष्यमा हामी अरु स्थानमा सुरुङ बनाउनमा प्रयोग गर्न सक्छौँ।’
निर्माणस्थल खाली गराउन विभागले समन्वयको काम गर्दै आएको छ। स्थानीयवासीलाई मुआब्जा वितरण गरेर घर हटाउने, बिजुली, खानेपानीलगायतका संरचना हटाउने काम भइरहेको आयोजना प्रमुख श्यामप्रसाद खरेलले जनाए। जग्गाका अधिकांश समस्या समस्या भइसकेको उनको भनाइ थियो।