काठमाडौँ, २५ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले बेलायती सेनामा कार्यरत नेपाली युवाहरुका समस्या समाधानका लागि उच्चस्तरीय समिति बनाउन माग गरेका छन्।
बेलायती सेनामा कार्यरत नेपाली युवाहरुले अनेक विभेदको सामना गर्नुपरेको भन्दै भट्टराईले नेपाल र बेलायतबीचमा उच्च स्तरीय वार्ता टोली बनाएर समस्या समाधान गर्नुपर्ने बताए ।
प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘अहिले पनि सन् १९९३ अगाडि भर्ना भएका र सन् १९९७ को जुलाइअघि सेवा निवृत्त भएका गोरखा सैनिकमाथि ठूलो विभेद छ, नेपाली नागरिकको सम्मान र सहअस्तित्वका लागि सरकारले वार्तामार्फत समाधान खोज्नुपर्छ।’
उनले बेलायती सेनामा नेपाली महिलाको भर्तीको कुरा पनि उठिरहेको बताउदै यी सबै विषय दुई देशको वार्ता कमिटीबीच वार्तामार्फत टुंग्याउनुपर्नेमा जोड दिए।
उनले भने, ‘बेलायती सेनामा नेपाली महिलाहरुको भर्तीको कुरा आएको छ, नेपाली पुरुषहरुले समेत विभेदा भोगिरहेका छन्, महिलालेको अवस्था के हुन्छ ? बेलायती सेनामा नेपाली युवाहरुले तलबमा अति नै विभेद खेपि रहेका छन्।’