सिन्धुली– विपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कन्चनपुर नगरपालिका ६ सप्तरीका ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन्।
पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको स्कारपियो जीप दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक स्यामबहादुर खत्रीले जानकारी दिए।
दुर्घटनामा स्कारपियोका चालक सोही ठाउँका ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको छ।
मृतक चौधरी कन्चनपुर नगरपालिका सप्तरीका सहलेखापाल हुन्। दुर्घटनाग्रस्त स्कारपियो सकडबाट झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण स्कारपियो अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।