काठमाडौं– नेपालमा टेनिस खेल्न आएका जापानी मूलका अस्ट्रेलियन खेलाडीको बिहीबार निधन भएको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा अभ्यास गर्दागर्दै ढलेका केन्ट यामाजाकीलाई उपचारार्थ नजिकै बीएन्डबी अस्पताल लगिएको थियो। उपचार हुँदाहुँदै उनको निधन भएको हो।
अन्तर्राष्ट्रिय टेनिस महासंघको जुनियर विश्व वरीयता छनोट राउन्ड खेल्न उनी तीन दिनअघि नेपाल आएका थिए। १५ वर्षे उनले बुधबारदेखि अभ्यास सुरु गरेका थिए। छनोट प्रतियोगिता शनिबार र आइतबार हुने कार्यक्रम छ। ‘स्पाइरिङ पार्टनर कोही नभएपछि उनले त्यहाँ रहेका प्रशिक्षकलाई सोधेका थिए। उनीहरूले अहिले कोही छैनन् भनेर भनेपछि केन्ट कोर्ट नम्बर ६ मा सर्भिस अभ्यास गर्न गएका थिए,’ नेपालका प्रशिक्षक सूर्यभूषण वज्राचार्यले बताए।
नेपाली महिला खेलाडी प्रेरणा कोइराला आफ्नो स्पाइरिङ पार्टनर पर्खेर बसेकी थिइन्। प्रेरणाले खेलिदिन्छु भनेपछि प्रेरणासँग ५ मिनेट खेल्नेबित्तिकै केन्ट एक्कासि ढलेका थिए। त्यसपछि उनलाई उपचारार्थ अस्पताल र्पुयाइएको प्रशिक्षक वज्राचार्यले बताए। अस्पतालले तत्कालै उनलाई मृत घोषित गरेको थियो ।उनको निधनको खबर पाएपछि अस्ट्रेलियाली दूतावासका प्रतिनिधि अस्पताल पुगेका थिए।
केन्ट आफ्ना बुवासँग छनोट प्रतियोगिता खेल्न नेपाल आएका थिए। प्रशिक्षक सूर्यभूषणले आफ्ना छोरा संरक्षक अस्ट्रेलियामा टेनिस कोर्स पढ्न जाँदा केन्टसँग कलेजस्तरीय प्रतियोगिता खेलेको जनाए।