काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औद्याेगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेका बताएका छन्। देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९ औँ वार्षिकोत्सव समारोहका अवसरमा आयोजित कार्यक्रममा उनले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको जनाएका हुन्।
“देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सरकारले उद्योग स्थापनामा जोड दिएको छ”, उनले भने। सबै प्रदेशमा औधोगिक क्षेत्र स्थापनामा सरकार लागेको उनले जनाएका छन्। उपप्रधानमन्त्री पोखरेलले देउराली–जनता फर्मास्युटिकल्स गौरव गर्न लायक उद्योगका रूपमा विकास हुँदै गएको बताए।
रक्षामन्त्री पोखरेलले जनतासँग गाँसिएको संस्थामात्र बाँच्न सक्ने हुँदा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पु¥याउन जरुरी रहेको उल्लेख गर्दै औषधिको अध्ययन अनुसन्धानमा समेत केन्द्रित हुन कम्पनीलाई आग्रह गरे। औषधि उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क कम गर्न सरकार गम्भीर भएर लाग्ने उनको भनाइ थियो।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कुल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको जनाए। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले फर्मास्युटिकल्सले टोखा नगरपालिकाको गरिमा बढाएको बताउँदै राष्ट्रको समृद्धिका लागि उद्योगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे। टोखाको विकासमा देउराली जनताले सहयोग पु¥याएको उनको भनाइ थियो।
कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले मेहनत, परिश्रम र इमान्दार भएर अगाडि बढेका कारण कम्पनी अहिलेको अवस्थामा आएको बताए। उनले राजश्वलाई भन्दा उद्योग स्थापनालाई सरकारले प्राथमिकता दिनुपर्ने जनाए। सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
स्थानीय समाजसेवी चन्द्रविनोद चालिसेले कम्पनीले एक वर्षमा नै धेरै प्रगति हासिल गर्न सफल भएको बताउँदै थप सफलताको शुभकामनासमेत दिए। प्रालिका महाप्रबन्धक रीना श्रेष्ठले कम्पनीले मुटुरोग, नसासम्बन्धी रोग, मधुमेह, चर्मरोगलगायत ३२० प्रकारका औषधि उत्पादन गरिरहेको जानकारी दिए।
विसं २०४७ माघ १६ गते स्थापना भएको कम्पनीले ५०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले जानकारी दिए। सोही अवसरमा कम्पनीमा १०, १५, २० र २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो।