काठमाडौं, २५ माघ – नेपाल र जापानबीच सरकारी सयन्त्रमार्फत (जी टु जी) मोडलमा नेपाली कामदार जापान लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टका अनुसार विभिन्न क्षेत्रमा कामदार अभाव भोगिरहेको जापान जतिसक्दो चाँडो नेपाली कामदार लैजान चाहन्छ।
जापानले कृषि, उद्योग, स्वास्थ्य, होटल, रेष्टुरेन्ट, निर्माण क्षेत्र लगायत १४ वटा रोजगारीका क्षेत्रमा नेपालबाट श्रमिक लिने भन्दै मन्त्रालयमा प्रस्ताव गरेको मन्त्री बिष्टले बताए।
‘मन्त्रालयबाट जापानमा नेपाली कामदार कति पठाउने, कुन–कुन क्षेत्रका लागि पठाउने र नेपाली कामदारको सुरक्षा तथा पारिश्रमिकका सम्बन्धमा निरन्तर छलफल चलिरहेको छ,’ बिष्टले भने, ‘प्रक्रिया पूरा हुनका लागि अब धेरै समय कुर्नुपर्दैन।’ त्यसरी जापान जाने कामदारले न्यूनतम शुल्क मात्रै तिर्नुपर्ने उनले बताए।
जापानमा नेपाली कामदार जी टु जी मोडलमा पठाउन जापानी राजदूतावास तथा जापानी सरकारी र निजी क्षेत्रका प्रतिनिधिसँग मन्त्री बिष्टले पटक–पटक छलफल गरेका छन्।
सबै प्रक्रिया पुर्याएर आगामी अप्रिल महिनाबाट नेपाली कामदारलाई जापान पठाउन सुरु गर्नेगरी तयारी भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।
गत पुस १० गते विदेशी कामदारलाई आफ्नो देशमा भित्र्याउनका निम्ति जापानको मन्त्रिपरिषदले निर्णय गरेको थियो।
पहिलो चरणमा प्रवेशाज्ञा पाउने कामदारले जापानमा कम्तिमा पाँच वर्ष काम गर्न पाउने छन्। अहिले जापानमा विद्यार्थी र श्रमिक गरी झण्डै ८४ हजार नेपाली क्रियाशील छन्।