कावासोती – मध्यवर्ती वहुमुखी क्याम्पस कावासोतीमा शनिवारदेखि धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ। गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि अयोजित धन धान्याञ्चल ज्ञान महायज्ञको गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले उद्घाटन गरे।
धनधान्याञ्चलको पहिलो दिनमा नै १ करोड २० लाख वरावर नगद संकलन भएको आयोजक मुल समितीले जनाएको छ। धनधान्याञ्चलको उद्घाटनमा वोल्दै कावासोती नगरपालिका वडा नम्वर १७ का वडा अध्यक्ष छविलाल महत्तोले आगामि आर्थिक वर्ष २०७७ ७८ वाट ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ विनियोजन गर्ने घोषणा गरे। त्यसैगरी कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले मध्यवर्ती वहुमुखि क्यापसको भौतिक पुर्वाधार निर्माणका लागि पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
प्रदेश सांसद एवम् नेपाली काँग्रेस नवलपुर जिल्ला सभापति बिष्णु लामिछानेले चालु आर्थिक वर्षबाट ४ लाख प्रदान गर्ने वताए। संघीय सांसद तिलक महतले २० लाख प्रदान गर्ने घोषणा गरे। धनधान्याञ्चलका लागि अमलटारी मध्यवर्ती उपभोक्ता समितिले १० लाख, गुन्द्रही ढकाहा सामुदायिक वनले ८ लाख ८० हजार, भूपति भट्टराईले १ लाख १ हजार सहयोग गर्ने घोषणा गरेका छन्।
उद्घाटन सत्रमा नै करिव १ करोड २० लाख वरावरको आर्थिक संकलन भएको आर्थिक समितीका संयोजक रामकृष्ण ढुंगानाले जानकारी दिए। कार्यक्रम गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतको प्रमुख आतिथ्यता एवम् धनधान्याञ्चल मुल आयोजक समितीका संयोजक पुष्परत्न महत्तोको अध्यक्षतामा सम्पन्न भएको थियो।
धनधान्याञ्चलको उद्घाटन अघि सयौँ सर्वसाधारणको सहभागितामा स्थानिय जनजातिहरुको मौलिक भेषभुषासहित कलश यात्रा निकालिएको थियो। सरस्वती माध्यमिक विद्यालयको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्ष राखेर धनधान्याञ्चल आयोजना गरिएको हो। माघ १९ गतेसम्म चल्ने महायज्ञमा भागवत वाचक पण्डित नेत्र प्रसाद पराजुलीले प्रवचन दिनेछन्।