काठमाडौं– नेपाल नगरपालिका महासंघको केन्द्रीय सदस्यको हैसियतले गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपमेयर सम्पर्कविहिन भएकी थिइन्। कालीकोट जिल्लाकाे तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) अमेरिकाबाट नफर्किएकाे बताइएकाे छ।
दर्शना गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन्। अमेरिका पुगेको केही समय पछि उनी सम्पर्कबिहिन भएकी हुन्। दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यको हैसियतले अमेरिकमा गोष्ठीमा सहभागी भएकी थिइन्। उनी अमेरिका पुगेको केही समयसम्म नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन्।
उनकाे पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि कुराकानी नभएकाे बताइएकाे छ। ‘कात्तिकको पहिलो सातातिरमा अमेरिका गएकी हुन् र सुरुमा सम्पर्कमै थिइन्,’ मेयर शाहीले भने, ‘पुसयता सम्पर्क भएको छैन।’ मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक एकाउन्ट अहिले निष्क्रिय छ।