वीरगंज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयाबाट महोत्तरीको ढल्केबरसम्म ४ लेनको सडक बन्ने भएको छ। यो सडकखण्ड विस्तारका लागि विश्व बैंकसहुलियत ब्याजदरको ऋण दि सकारात्मक रहेकाे बताइएकाे छ।
ऋणबारे औपचारिक सहमति भएपछि विस्तृत परियोजना प्रतिवेदनसहित डिजाइन बनाउने काम अघि बढ्ने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताएका छन्। उनले विश्व बैंकसँग ऋण सम्झौतापछि परमर्शदाता छनोट हुने र१ वर्षभित्र डिजाइनको काम सकिने जनाए।
करिब १ सय २१ किलोमिटरको यो खण्डलाई फरक–फरक प्याकेजहरुमा विभाजन गरेर निर्माण गरिनेछ। भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिने शर्मा सडक विभागका महानिर्देशकले बताए।
अहिले मुख्य राजमार्ग फराकिलो पार्ने योजनाअनुसार धमाधम काम भइरहेको छ। विश्व बैंकको सहयोगमा मुग्लिन–नारायणगढ सडक दुई लेनमा विस्तार गरिएको छ भने मुग्लिन–नागढुंगा सडक पनि डेडिकेटेड दुई लेन विस्तारमा लगानी गर्ने योजना बनेको छ। यस्तै एसियाली विकास बैंक (एडीबी) को सहयोगमा बुटवल–नारायणगढ सडकखण्ड ४ लेनको बनाउन सुरु गरिसकेको छ।
अब विस्तार हुने ढल्केबर–पथलैया सडकमा भने पूर्वपश्चिम राजमार्गका अन्य खण्डमाजस्तै ‘मेडियन’ (डिभाइडर संरचना)को दुईतर्फ ७–७ मिटरको २–२ सडक बन्नेछ। एउटा लेन ३.५ मिटरको हुनेछ भने ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ।
यो सडक नेपालको पर्यटकीय चहलपहल धेरै हुनेमध्ये एक हो। पूर्वी पहाड तथा मध्य तराई घुम्न जाने पर्यटकका लागि मात्रै होइन, त्यस क्षेत्रका स्थानीयका लागि पनि काठमाडौंसहित पश्चिमतर्फ आवातजावत गर्ने मुख्य मार्ग हो। सरकारले निजगढसम्म काठमाडौंबाट द्रुतमार्गले जोड्दैछ भने वीरगञ्जबाट पथलैयासम्म ६ लेनमा सडक विस्तार भइसकेको हो। बाराको पथलैयाबाट महोत्तरीको ढल्केबर (कमला)सम्म सडक विस्तार भयो भने निजगढ पुग्न झन सजिलो हुनेछ।