एजेन्सी– लन्डन क्लब चेल्सी र आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्। १० खेलाडीमा समेटिएको आर्सनलले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो।
चेल्सीले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो। स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिएको थियो। चेल्सीका ट्यामी अब्राहमलाई डेविड लुइजले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले लुइजलाई रेफ्रीले रातो कार्ड देखाउदै चेल्सीलाई पेनाल्टी दिएका थिए। सोकोड्रान मुस्ताफीको ब्याक पासमा गोलरक्षक बर्न लेनोलाई बिट गरेपनि लुइजले अब्राहमानथि खराव ट्याकल गर्न पुगेका थिए।
त्यसमै प्राप्त पेनाल्टीमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। ६३औं मिनेटमा पाहुना टोली आर्सनलले बराबरी गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। मुस्ताफीको काउन्टर एट्याक पासमा ग्याब्रियल मार्टिनेलीले गोल गर्न सफल भएका थिए।
८४औं मिनेटमा कप्तान र सेजर एजपिलीक्वेटाले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए। उनले कलुम हड्सन ओडोईको क्रस पासमा गोल गर्न सफल भएका थिए। ८७औं मिनेटमा कप्तान हेक्टर बेलेरीनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। लुकास टोरेराको पासमा पेनाल्टी बक्सभित्रबाट बेलेरीनले गरेको प्रहार दोस्रो बारबाट गोलमा परिणत भएको थियो।
त्यसपछि गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा टुंगियो। बराबरीपछि चेल्सी २४ खेलबाट ४० अंक जोडेर चौथो स्थानमा यथावत छ। आर्सनल ३० अंकसहित १०औं स्थानमा छ।