काठमाडौं, २४ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला प्रकरणकाबारेमा पुष्पकमल दाहाल (प्रचण्ड) ले जारी गरेको वक्तव्य गलत रहेको स्वीकार गरेका छन्।
प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा उनले भने,‘त्यो अलिकति ‘स्लीप’ चिप्लिएका हो। म भोलिपल्ट आउँदै थिएँ । अघिल्लै दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन। दिनुपर्ने जरुरी विषय पनि थिएन। जुन भाषा प्रयुक्त भयो त्यो अलि उपयुक्त भाषा पनि भएन।’
कार्यक्रममा प्रस्तोताले तपाईँ देशमै रहेको भए भेनेजुएलाबारे त्यस्तो वक्तव्य आउने थियो ? भनेर सोधेको प्रश्नको जवाफमा उनले भने, ‘आउने थिएन। हाम्रा सुस्पष्ट नीतिहरू छन्। स्थिर नीतिहरू छन्। त्यसकारणले गर्दा त्यस्तो हुने थिएन।’
उनले अघि भने,‘जस्तो सम्बन्ध विग्रियो यस्तो भयो र उस्तो भयो भन्ने हल्ला छ त्यस्तो होइन। आफ्नो नाम लिएर बोलिएको प्रसङ्गमा अमेरिकालाई अलिकति चित्त दुखेको होला। चित्त दुखाउने हो भने त हामीहरू जस्तो सानो देशलाई अर्को देशको अङ्ग होइन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र?’