काभ्रेपलाञ्चोक, २४ माघ – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताएका छन्।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा बुधबार पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामाकरण र राजधानी’ विषयक अन्तरक्रियामा उनले पार्टीको बनोटलाई लोकतान्त्रिक नगरेसम्म सुधार नआउने जिकिर गरे।
उनले भने,‘त्यो अवस्थासम्म पुग्नुभन्दा अगाडिको सङ्घीय व्यवस्था पनि कुनै वेला अन्त्य गरिनुपर्ने अवस्था आउने भएकाले अहिलेको लागि आन्तरिक सङ्क्रमणकालमा हामीलाई सङ्घीयता चाहिएको छ।’
संयोजक डा.भट्टराईले अहिले बनाएको सङ्घीयताको मोडल खिचडी खालको भएको र त्यसमा कुनै खालको आधार नै नबनाई अगाडि सारेको बताए । उनले अरू प्रदेशहरुले जातीय, सांस्कृतिक पहिचान बिनाको प्रदेशको नामकरण गरेको उल्लेख गर्दै ३ नं प्रदेशको नामकरण जातीय बाहुल्यता भएको तामाङ र नेवारको पहिचान रहने गरी नामकरण गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव दिनेश लामाले तीन वटा सरकारले पाउने अधिकार क्षेत्रलाई उचित ढङ्गले उपयोग गर्दै त्यसको कार्यान्वयनको अभ्यासलाई तलसम्म छिट्टै लानुपर्ने बताए। मुलुक सङ्घीयताबाट पछि नहट्ने भएकाले त्यो अधिकार क्षेत्रमा गरिरहेको अभ्यासलाई थप विकास गर्ने क्रममा भएको कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
माघ १५ गतेदेखि पाँचथरको चिवाभञ्जाङबाट फागुन १५ मा बैतडीको झुलाघाटमा एक हजार ८७९ किलोमिटर यात्रा गर्दै ती स्थानहरुमा स्थानीय तहका पदाधिकारीहरुसँग संवाद गर्ने डा.भट्टराईको कार्यक्रम छ । रासस