काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन्।
खतिवडाले १५ अर्ब पूँजी भएका बैंकले २–३ अर्ब रुपैयाँ नाफा कमाउनु धेरै नभएको बताएका छन्। मंगलबार (आज) काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सवमा खतिवडाले नाफा अर्बमा देखिएपनि प्रतिशेयर आम्दानी कम हुने बताएका हुन्।
उनले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको महत्वपूर्ण भूमिका हुने समेत बताए। खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गरे। नेपालको वित्तीय क्षेत्र दक्षिण एशियामै उत्कृष्ट भएको उनको दाबी थियो।