एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गर्दै रियाल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा रियालले सेभियालाई २–१ गोलले हराएको छ।
रियालको जितमा ब्राजिलियन स्टार क्यासमिरोले दुई गोल गरे भने सेभिल्लाका लुक डि जोङले सान्त्वना गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ३ नै गोल दोस्रो हाफमा भएको थियो।
खेलको ५७ औं मिनेटमा लुका जोभिकको ब्याक हिल पासमा क्यासमिरोले गोल गर्दै घरेलु टोली रियाललाई खेलमा अग्रता दिलाए। त्यस्तै ६४ औं लुक डि जोङले गोल गर्दै सेभिल्लालाई खेलमा फर्काएका थिए। तर त्यसको ४ मिनेटपछि मा क्यासमिरोले व्यक्तिगत दोस्रो गोल गर्दा रियालले जित पक्का गर्यो।
यस जितसँगै शीर्षस्थानको रियालले २० खेलबाट ४३ अंक जोडेको छ। रियालले भन्दा एक खेल कम खेलेको बार्सिलोना ४० अंकको साथ दोस्रो स्थानमा छ।