झापा– भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका झापामा चार युवाले रु ६० लाखको लगानीमा कफी हाउस सञ्चालनमा ल्याएका छन्। मेचीनगर–६ काँकडभिट्टाका रोशन विष्ट, विर्तामोडका रोशन चौहान, युगेश अधिकारी र सुधन न्यौपानेले छ महिना अघिदेखि ‘एफबिए टु पोइन्ट जिरो कफी हाउस’ सञ्चालनमा ल्याएको हो।
विर्तामोड र काँकडभिट्टामा एउटै नामको अलगअलग कफी हाउस खोलेका उनीहरुले हालै बुटबलमा समेत शाखा सञ्चालन गरेका छन्र। यो कफी हाउसलाई विश्वव्यापी ब्रान्ड बनाउने लक्ष्य रहेको सञ्चालक रोशन विष्टले बताए। उनीहरुले ‘बारिस्टा एन्ड बारटेन्डिङ एकाडेमी’ नामक एकाडेमी पनि खोलेका छन्।
एकेडमीमा युरोप, अमेरिका, गल्फ र अस्ट्रेलियामा पढ्न जाने विद्यार्थीलाई कफी शपसम्बन्धी तालीम दिइने गरेको छ। कफी स्वास्थ्यका लागि उपयोगी पेय पदार्थ हो र यो स्वदेशमा उत्पादन हुन्छ। नेपालमा कफी पिउने बानी भर्खर बस्न थालेको बिष्टले बताएका छन्।
झापामा नै बसेर कफीको व्यावसायिक काम गर्ने र विद्यार्थीलाई आफूले सिकेको सीप सिकाउने उद्देश्यले कफी हाउस र बारिस्टा एन्ड बारटेन्डिङ एकेडमी शुरु गरेको उनको भनाइ छ। बारिस्टा एन्ड बारटेन्डिङ एकेडमीले राजधानीको प्रसिद्ध ‘काठमाडौँ कफी’सँग सहकार्य गरेको छ। यहाँको कफी हाउसको गुणस्तर विश्वस्तरीय ब्रान्डका कफी हाउससँग तुलना गर्न सकिने एशियन ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले बताएका छन्।
एक वर्षअघि भारतको लभ्ली प्रोफेसनल युनिभर्सिटी–एलपियुबाट एमबिए सकेर नेपाल फर्किएका रोशन विष्टले अमेरिका वा अस्टे्लीयामा एमफिल पढ्न जाने सोच बनाएर काठमाडौँमा कफी शपसम्बन्धी तालीम लिएको थियो।अमेरिका र अस्ट्रेलियाको प्रवेषाज्ञा नआएपछि बिष्टले विदेश जाने योजना त्यागेर तीन जना साथीसँग मिलेर स्वदेशमै कफी शप खोल्ने पहल गरेको बताएका छन्।
चारैजना अब विदेश नजाने र स्वदेशमै स्वरोजगारको सिर्जना गर्ने भएका छन्। सुनसरी, मोरङ, इलाम, झापा लगायतका विद्यार्थी विर्तामोडको एकाडेमीमा तालीम लिन आउने गरेका छन्। एकेडमीले स्थानीय सरकारसँगको सहकार्यमा कफीसम्बन्धी निःशुल्क तालीम समेत मासिक रुपमा दिइरहेको छ। यहाँ प्रयोग हुने अग्र्या्निक कफीको दाना लमजुङ, नुवाकोट, इलामलगायत नेपालका पहाडी जिल्लाबाट ल्याउने गरिएको छ। ( रासस)