काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) उद्घाटन गर्ने भएका छन्। प्रधानमन्त्रीद्वय ओली र मोदीले माघ ७ मा संयुक्त रूपमा आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स) मार्फत उद्घाटन गर्ने भएका हुन्।
प्रधानमन्त्री ओली सिंहदरबारको रुमबाट र मोदीले दिल्लीबाटै भिडियो कन्फरेन्समा जोडिने तयारी भएको छ। उद्घाटनका क्रममा भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घरसमेत हस्तान्तरण हुने कार्यक्रम रहेको बताइएको छ।
भारतीय सहयोगमा २०७२ सालको भूकम्पले क्षतिग्रस्त गोरखामा २७ हजार घर पुनर्निर्माण भएका छन्। भारतले नुवाकोट र गोरखामा गरी ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको प्राधिकरणले बताएको छ।
यसअघि गत सेप्टेम्बर १० मा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाटै तथा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै भिडियो कन्फ्रेन्समार्फत संयुक्तरूपमा उद्घाटन गरेका थिए।