जनकपुरधाम — प्रदेश २ सरकारले प्रदेशका आठ वटै जिल्लामा एकै दिन ८ सय ४ जना छोरीहरुको शिक्षा बिमा गराएको छ। बिहीबार प्रदेशका आठ वटै जिल्लाको एक स्थानीय तहमा शिबिरको उद्घाटन गरिएको छ।
उद्घाटनकै दिन ८ सय ४ जना बालिकाको बिमा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामले जनाएको छ। २०७५ साल माघ १ गते यता जन्मिएका हरेक छोरीको बिमा गर्ने लक्ष्य लिएको प्रदेश सरकारले सोही लक्ष्यलाई पूरा गर्न शिबिर संचालन गरेको हो।
सर्लाहीमा २ सय ८६ जना बालिकाको बिमा गरिएको छ। बाराका १ सय ४० जना, सप्तरीमा १ सय ७ जना, महोत्तरीमा ७५ जना, पर्सामा ६७ जना, रौतहटमा ६५ जना, सिरहामा ५५ जना र धनुषामा ५० जना बालिकाको बिमा गरिएको उक्त कार्यालयले जनाएको छ। बिहीबारबाट शुरु गरिएको शिविर प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा एक सातासम्म सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्य रहेकाे छ।