काठमाडौं – भारतीय नाकाबाट रिक्सा, मोटरसाइकल तथा साइकलमा भन्सार छलेर सामाग्रीहरु ल्याउने क्रम बढीरहेको र त्यसलाई रोक्न भन्सार कार्यालयले विशेष चासो नदिएको गुनासो व्यापारीहरुले पोखेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले घरायसी प्रयोजनका लागि भन्दै भारतबाट ल्याएर तराई क्षेत्रमा व्यापार भइरहेको बताए।
भारतीय नाकाहरुको अवस्थाबारे बुझ्न विभिन्न नाकाहरु पुगेर फर्किएका अध्यक्ष कटुवालले भन्सार छल्नेको संख्या ठूलो रहेको बताए। भन्सार नतिरी सामाग्री ल्याउनेहरुका कारण कर तिरेर वैधानिक तरिकाले व्यवसाय गर्नेहरुलाईमात्रै नभएर राज्यलाई समेत समस्या परेको अध्यक्ष कटुवालले बताए। चेक पोष्टमा कार्यरत सशस्त्र प्रहरीले रिक्सा, मोटरसाइकल, साइकल लगायतमा सामान ल्याउदा धेरै ध्यान नदिएको बताए।
सरकारले भारतीय बजारबाट सानो परिमाणमा घरायसी सामान ल्याउन छुट दिएको छ। त्यसैलाई टेक्दै स्थानीय व्यापारीहरुले घरायसी सामान भन्दै व्यापारिक सामाग्रीहरु भन्सार नतिरी नेपाल भित्र्याउने गरेको उनको भनाई छ। अध्यक्ष कटुवालका अनुसार राजश्व लक्ष्य भेटिएन भनेर कर बढाउने होइन भएकोलाई उठाउन सकेमात्रै पनि राम्रो हुन्छ।
के भन्छ भन्सार बिभाग
भन्सार विभागका अनुसार भन्सार नतिरी ल्याएको भेटाए सबैलाइ कार्वाही हुने बताउछन्। थोरै परिमाण्मा भए बिगो जफत र सोहि बराबरको जरिवानासम्मको कारबाही हुने र बिगो ठूलो भए त्यसरी सामाग्री ल्याउने जेल पनि जानसक्ने विभागका निर्देशक शिशिर घिमिरेले बताए।
उनले भने ५ हजार रुपैयाँसम्मको सामान भने घरायसी प्रयोजनका लागि ल्याउन सकिने छ। त्यो भन्दा माथि ल्याएको, नल्याएको सुरक्षाकर्मीले चेकजाच गर्ने उनले बताउछन्। अध्यक्ष कटुवाल भने आफै अनुगमनमा गएको र आफैले ५ हजार मूल्य भन्दा धेरै माथिको सामाग्रीहरु ल्याएर नेपालमा बिक्री हुने गरेको बताउछन्।