काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि लगानी बोर्डले स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल एजीलाई सर्ट लिस्टमा राख्दै सार्वजनिक रुपमा विस्तृत प्रस्ताव माग गरेको छ।
विमानस्थको विकास र सञ्चालनका लागि प्रस्ताव गर्ने कम्पनीमा स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट, ईन्टरनेशनल छनोट भएको बोर्डले जनाएको छ। सार्वजनिक निजी साझेदारी मोडलमा यो परियोजना अघि बढाउन विकासकर्ता कम्पनी छनोट गर्न लागेको हो।
कम्पनीलाई फागुन १८ गतेसम्म तोकिएको ढाँचा अनुरुप प्रस्ताव पेश गर्न भन्दै बोर्डले शुक्रबार सूचना प्रकाशित गरेको छ। बोर्डले यो प्रस्तावमा फागुन ४ गते छलफल गर्नेछ। विमानस्थलको निर्माणको लागि रुख कटान नगर्न अदालतले अन्तरिम आदेश दिएता पनि बोर्डले विकासकर्ता कम्पनी छनोटको प्रक्रियालाई अगाढि बताएको पाइन्छ।
जुरिचले विमानस्थलको निर्माण, विकास र सञ्चालनबारे आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नेछ। सो प्रस्ताव उपयुक्त भएमा बोर्डले विमानस्थलको जिम्मा उसैलाई दिनेछ। निजगढ विमानस्थल अहिलेसम्म चर्चामै सीमित छ। यो आयोजनाको चर्चा ०५०र५१ सालबाटै सुरु भएको थियो।