वीरगञ्ज– प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागूऔषध सेवन गर्नेलाई दण्ड नभइ परामर्श दिनुपर्ने बताएका छन्।वीरगञ्जमा लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको बिहिबार उद्घाटन गर्दै उनले शिक्षक र अभिभावक लागूऔषध विरुद्ध खुलेर आउनुपर्नेमा जोड दिए।
उनले लागू औषध विकराल सामाजिक समस्या बन्दै गएकोले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान सुरु गरेको बताएका हुन्। कुलतमा फस्नु अघि र जेल परेपछि पनि उनीहरुलाई परामर्श केन्द्रमै लैजानुपर्ने उनको भनाइ छ। परामर्श केन्द्रमा विज्ञले काउन्सिलिङ गर्ने र समाजमा पुनर्स्थापना गर्न भूमिका निर्वाह गर्ने खनालले बताएका छन्।
लागूऔषध सेवन गर्ने व्यक्ति आफैँ पीडित भएको भन्दै आईजीपी खनालले उनीहरुको उद्धारका लागि अभिभावक सक्रिय हुनुपर्ने धारणा राखेका छन्। आईजीपी खनाल भन्छन्, ‘लागू औषधले विकराल रुप लिइसक्यो, छोरा छोरी कुलतमा लागेका छन्, अभिभावक, शिक्षकले यो विषयलाई अगाडि आएर भन्न सकेका छैनन्। अर्कोले के भन्ला भन्ने डरमा छन्, उनीहरुको उद्धार गर्नु पर्छ।’
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले लागू औषध प्रयोगकर्ताको पुनः स्थापनाका लागि खुलेका केन्द्रहरुमा चर्को शुल्क रहेको बताए।