खलाङगा– जुम्लामा बिहिबार भारी हिमपात भएको छ। यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ।
बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ। चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ। लगातार पानी र हिउँमा बच्न तथा न्यानो भएर बस्न स्थानीय प्रशासनले पटक पटक सूचनासमेत जारी गर्दै आएको छ।
चिसोले अस्पतालमा बिरामीसमेत बढ्न थालेका छन्। अस्पतालमा रुघाखोकीका बिरामी बढेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रनितष्ठान शिक्षण अस्पतालका डा. अर्जुन तिवारीले जानकारी दिएका छन्। जुम्लाको तापक्रम भने घट्दै गएको यहाँस्थित जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ।
बिहिबार जुम्लाकाे न्यूनतम तापक्रम ०.७ डिग्री रहेको छ। मौसम सफा भएपछि भने तापक्रम बढ्ने अनुमान गरिएको छ। गत पुस १ गते जुम्लाको तापक्रम माइनस ७.२ डिग्री सेल्सियस भएको थियो। रासस