गोरखा– खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी नम्बर प्लेटको मोटरसाइकल लामो सयमदेखि गोरखाको होलसिङमा वेवारिसे अवस्थामा फालिएको छ।
बा १ व ८२७१ नम्बरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल केही महिनादेखि झाँडीमा अलपत्र अवस्थामा परेको स्थानीयले जनाएका छन्। सो ठाउँका नवराज अर्यालले उक्त मोटरसाइकल ल्याएर छाडेको स्थानीयको भनाइ छ। उनी खानेपानी मन्त्रालयमा गाडी चालकको रुपमा करारमा काम गर्थे।
मन्त्रालयका अनुसार अर्यालले जागिर छाडेको ६ महिना भइसक्यो। जागिरको सिलसिलामा उनले ल्याएको मोटरसाइकल फिर्ता नगरी उनले गाउँ नजिकैको झाँडीमा छाडेर उनी वेपत्ता छन्। उनले यो मोटरसाइकल दशैंअघि नै नजिकैको दशमुरे खोलामा छाडेको थियो। स्थानीय मायानाथ अर्यालले भने, कसले खोलामा पल्टाइदिएछ, यही गाउँका मान्छेले खोलाबाट उठाएर यता राखिदिए। उक्त मोटरसाइकल सम्बन्धित निकायमा बुझाइदिन आग्रह गरे पनि नवराजले वेवास्ता गरेको स्थानीयले जनाएका छन्।
स्थानीय डम्बरबहादुर दमाइले भने ‘सरकारी बाइक मरेको मान्छे जस्तै अलपत्र भएर बसेको छ, घर लगेर राखे पनि हुन्थ्यो, यसरी झाडीमा विजोग पाराले राखेको बताइएकाे छ। प्रहरीलाई खवर गर्दा पनि फोटो मात्र खिचेर लगेको उनले जनाए।
वडाध्यक्ष राम बहादुर वोगटीले भने सरकारी मोटरसाइकल गाउँमा अलपत्र अवस्थामा रहँदा नराम्रो सन्देश गएको बताए। उनले भने सम्बन्धित निकायले ध्यान नदिएको हो कि, राज्यको सम्पत्ति यसरी अलपत्र छाड्दा पनि किन वास्ता नगरेको हो।