काठमाडौँ, २३ माघ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता तुरुन्त रिहाइ गर्न आग्रह गरेको हो। मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महँगी, भ्रष्टाचारका अतिरिक्त संविधान, सङ्घीयता र संसदीय व्यवस्थाको मर्म र भावना विपरीत क्रियाकलाप बढेको भन्दै सङ्घले आन्दोलन गरिरहेको छ।
यसै क्रममा पोखरामा भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सो घटनाको विरोध गर्दै गिरफ्तार विद्यार्थी नेताको रिहाइको माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा गरिएको प्रदर्शनमा सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईलगायत विद्यार्थी नेता डम्बर सुनार, प्रेम शाही, शङ्कर खड्का, सरोज तिमिल्सिना, निराजन नेपाल, सञ्जीव ढकाल, रबिन केसी, सञ्जीव खड्का, सागर पाण्डे, हृदयराज मिश्र, सुनील सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी, सुरज सैजुवाल, अशोक सिंह विष्ट, अनुराग शाह, जेम सिंह राई र रोहित नेपाललाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै पोखरामा भएको मंगलबार भएको प्रदर्शनमा सङ्घका केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेतालाई पनि गिरफ्तार गरिएको काङ्ग्रेसले जनाएको छ।