काठमाडौं– विक्रम संवत् १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।
दिउँसो साढे १ बजे भक्तपुर दरबार स्क्वायरमा भूकम्प दिवसका अवसरमा मूल समारोह समितिले कार्यक्रम आयोजना गर्दैछ। मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिएका छन्।
पहिलो पदयात्रा लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुग्नेछ। यसैगरी दोस्रो पदयात्रा भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूल समारोहको कार्यक्रममा सहभागी हुनेछ।
दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी चेतना जगाइएको छ। दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले बताएको छ ।
टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने बताएको छ। यस अवसरमा काठमाडौँ र ललिपुर महानगरपालिकाले पनि आज विशेष कार्यक्रम गर्ने विभागले जनाएको छ। ।भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो।
दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान गयो। आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए। सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो। अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो।
यसको पुनःनिर्माणका लागि चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेका थिए। राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल रानीपोखरीको काम चार वर्ष बित्दासमेत सम्पन्न हुनसकेको छैन।