काठमाडौं– भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि छानबिन शुरु गरेको छ। नेपाली सेनाका कर्णेल भूपालमान अधिकारी र लेफ्टिनेन्ट कर्णेल देव क्षत्रीमाथि रासन अनियमितताको अनुसन्धान शुरु गरेको हो।
प्रारम्भिक छानबिनले रासनमा अनियमितता भएको देखाएकाले दुवै जनालाई ‘लाइन एरेस्ट’मा राखेर छानबिन थालिएको छ। दुई वर्षअघि सैनिक महाविद्यालयको महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा रासन अन्यत्र बेचेको आरोप छ।
रासनबापतको रकम अन्यत्रबाट व्यक्तिगत खातामा आएको देखिएको सैनिक स्रोतले जानकारी दिएको हो।यो विषयमा छानबिन गर्न सहायक रथी प्रदीपजंग केसीको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वायरी’ले उनीहरूमाथि अनुसन्धान गरिरहेको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनासँग जोडिएका विषयमा गुनासो आउन थालेपछि विगतका आर्थिक विषयसमेत छानबिन गर्ने नीति लिएका छन्। सेनाले ‘रिभर्स करप्सन’ नाम दिएर विगतका खरिद प्रक्रियालाई समेत हेर्दै आएको छ। प्रधानसेनापति थापाले प्रश्न उठेका स्थानमा मुख्यालयबाट टोली नै खटाएर छानबिन गर्दै आएका छन्।