तुलसीपुर– माटोका भाँडा बनाउने पेशाप्रति कुमाल युवाले पछिल्लो समय कुनै चासो दिएका छैनन्। भाँडा बनाउनु कुमाल पहिचान बनेको छ।
युवाको चासो भाँडा बनाउनेभन्दा बैदेशिक रोजगारीमा जान आकर्षण बढ्दो छ। दाङका कुमाल अगुवा प्रेम कुमालले भने, ‘जनशक्ति घट्दै जाँदा पेशा नै सङ्कटमा पर्ने खतरामा छ।’ यहाँ प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिन्छ। वृद्धवृद्धाले मात्रै बनाउँदै आफ्नो परम्परालाई धान्दै आएका छन्।
‘युवाले माटोका भाँडा बनाउने पेशा छाड्दै गइरहेका छन, उनले भने, ‘जसले गर्दा पेशा नै सङ्कटमा पर्ने खतरा छ ।’ युवालाई परम्परागत पेशाप्रति आकर्षण गर्न विभिन्न तालीमको आयोजना हुँदै आएको छ। युवा पुस्ताले सीप व्यवहारमा उतारेका छैनन्। बजारमा यस्ता भाँडा माग बढ्दो छ।
दाङको तुलसीपुर–७ प्रसेनीमा करीब ३०० कुमाल समुदायको बसोबास छ । ती कुमाल समुदायले पुर्खादेखि नै भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए। युवालाई भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्न आवश्यक रहेको वृद्धवृद्धाले जोडदिन्छन्। तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले पेशा जोगाराख्न ध्यान दिने बताएका छन्।
‘कुमालको माटोका भाँडा बनाउने पेशा लोप हुने अवस्थामा छ’, उनले भने, ‘यो पेशालाई जोगाइराख्न स्थानीय सरकारबाट पहल थाल्छु । पेशालाई आधुनिकतामा ढल्काउनै पर्छ।’ (रासस)