बागलुङ– बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट र २ बाटाकाचौर, साग्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको छ। ग्रामीण भेगमा स्वास्थ्य सेवाको सहज पहुँच पुया्उन गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा एकाइ स्थापना गरिएको हो।
सर्वसाधारणलाई वडामा रहेका स्वास्थ्य चौकी पुग्न अपायक भएपछि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानककारी दिएका छन्। ‘सामान्य उपचारका लागि पनि एक–डेढ घण्टा हिँडेरै जानुपर्ने अवस्था अन्त्यका लागि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएका हौँ’, उनले भने। स्वास्थ्य एकाइ राख्दा घना बस्ती र सबैलाई पायक पर्ने ठाउँ रोजिएको छ।
साग्दी साविक बाटाकाचौर गाविस वडा नं. १, ७, ८ र ९ को केन्द्र हो। धुल्लुबास्कोटको गडेल पनि साविकका तीन वडाको केन्द्र मानिन्छ। स्वास्थ्य चौकी पायकमा नभएका बस्तीका सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने सरकारी नीति नै छ। स्वास्थ्य एकाइ सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत प्रदान गर्नुपर्छ।
दुवै वडामा यसअघि रहेका खोप केन्द्रका भवनलाई थप व्यवस्थित गरी स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाले जनाएको छ। वडा कार्यायलले स्वास्थ्य एकाइलाई रु. दुई लाख बराबरका स्वास्थ्य उपकरण तथा सामग्रीसमेत प्रदान गरेको छ।
प्रभावकारी सेवा प्रवाहका लागि एकाइ सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी काम थालिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताएका छन्। स्वास्थ्य एकाइमा दुई अहेबसहित कार्यालय सहयोगी रहनेछन्। केही महिनाअघि गाउँपालिकाकै हुग्दीशीर, बराहकोटमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको थियो। (रासस)