लहान– लहान नगरपालिकाले ठूलो रकम खर्चेर बनाएको फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा नगरक्षेत्रबाट सङ्कलन हुने फोहरबाट मल बनाउने योजना अलपत्र परेको छ।
फोहरबाट मोहर कमाउने उद्देश्यकासाथ लहान नगरपालिका–४ स्थित खुट्टी खोलाको छेउमा बनाइएको फोहरमैला व्यस्थापन केन्द्र र त्यसभित्र निर्माण गरिएका संरचना प्रयोगमा नआउँदा लहान नगरक्षेत्रबाट सङ्कलन हुने वार्षिक सात हजार ३०० मेट्रिक टन फोहर उपयोगविहीन बन्दै आएको छ।
लहान नगरपालिका–४ मा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्रको उचित व्यवस्थापन र हेरचाह हुननसक्दा यसको अस्तित्व सङ्कटमा पर्नुको साथै गौचरणमासमेत परिणत भएको छ।लहान नगरक्षेत्रबाट वार्षिक सात हजार ३०० मेट्रिक टन फोहर सङ्कलन हुँदै आएको छ।
कुहिने चार हजार ३८० र नकुहिने दुई हजार ९२० मेट्रिक टन फोहर लहानमा सङ्कलन हुँदै आएको लहान नगरपालिकाको सामाजिक शाखाका भानुराज शर्माले जानकारी दिएका छन्। घरपरिवारबाट ५२ प्रतिशत, स्वास्थ्य प्रतिष्ठानबाट १५ प्रतिशत, शैक्षिक संस्थानबाट ८ प्रतिशत, उद्योग व्यापारबाट १६ प्रतिशत र अन्य ९ प्रतिशत फोहर लहानमा वार्षिक उत्पादन हुँदै आएको उनले बताएका छन्।
उत्पादित फोहर सङ्कलनको बनाइएको डम्पिङ साइडमा बनाइएको संरचना प्रयोगमा नआउँदा मल बन्ने फोहर पनि त्यतिकै खेर गइरहेको उनकोे भनाइ छ। लहान नगरपालिकाले फोहर सङ्कलनको लागि बजारक्षेत्रमा रातो निलो डस्बिन वितरणसमेत गरिएको छ भने नियमित फोहर सङ्कलनको लागि रिक्सा ३, ट्र्याक्टर पाँच, टिपर दुई, लोडर एक, ग्रेडर एक, डोजर दुई र एक्साभेटर दुई प्रयोग गर्दै आएको छ।
तर सङ्कलन भएको फोहरमैला जताततै फ्याँक्ने गरिएको छ भने फोहर छुट्याउन बनाइएका संरचनासमेत प्रयोगबिहीन बनेका छन्। लहान नगरपालिकाभित्रका फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसबाट मल उत्पादन गरेर बिक्री गर्ने लक्ष्यका साथ करीब एकबिघा क्षेत्रफलमा तारजालीले घेरबार गरी निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र यतिबेला डम्पिङ साइडमा रुपान्तरित भएको छ।
नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत महेन्द्रकुमार खम्याङको प्रयासमा आर्थिक वर्ष २०७१÷७२ मा उक्त फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो।
स्थानीय विकास मन्त्रालयको करीब रु एक करोडको लागतमा नगरपालिकाले निर्माण गरेको सो केन्द्रको संरक्षण र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिँदा सरकारी लगानी बालुवामा पानी सरह बनेको स्थानीयवासीको भनाइ छ।
एकातिर फोहरमैला जताततै फ्यालिएको छ, भने अर्काेतिर फोहरमैला छुट्ट्याउनका लागि निर्माण गरिएको सेड प्रयोगबिहीन बनेका छन्। लामो समयदेखि सेड प्रयोगबिहीन हुँदा त्यहाँ रुख उम्रिएको छ भने सेड बालबालिकाको खेलकूद गर्ने स्थल बन्न थालेको स्थानीयवासी बताउँछन्।
यसका साथै स्वास्थ्य संस्थाबाट सङ्कलन गरिएको सुई, कपास, प्लाष्टिकका झोला, म्याद गुज्रेको औषधिसमेत जथाभावी फ्यालिएको छ। यस्तै फोहरमैला व्यवस्थापन केन्द्रभित्रै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजले करीब रु पाँच लाखको लागतमा बनाइदिएको इन्सिनेटर–स्वास्थ्य संस्थाबाट निष्किने फोहरलाई नष्ट पारेर त्यसबाट मल निकाल्ने उपकरणसहितको भवन समेत प्रयोगबिहीन रहेको छ।
कुहिने र नकुहिने गरी फोहरलाई छुट्ट्याएर त्यसलाई प्रशोधन गरी त्यसबाट मल निकाल्ने लक्ष्य थियो,लहान नगरपालिका–४ का वडाअध्यक्ष रामनाथ पण्डितले भने, तर जे लक्ष्यका साथ बनाइयो अहिले त्यसको विपरीत जथाभाबी फोहर फ्यालिने गरिएको छ, नत सेडको प्रयोग भएको छ नत इन्सिनेटर कै प्रयोग भएको छ्।’फोहर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक ठूलो रकम खर्चिने गरेपनि त्यसको व्यवस्थित व्यवस्थापन हुननसक्दा सर्वसाधारण मात्रै होइन स्वयं जनप्रतिनिधिसमेत असन्तुष्ट बनेका छन्।
ठूलो लगानी गरेपनि फोहरमैला व्यवस्थापन केन्द्र बनाएको छ, तर त्यो प्रयोगबिहीन र लथाथिङ्ग बन्दा लगानी बालुवामा पानी हाले सरह नै भएको छ, वडाध्यक्ष पण्डितले भने,‘जुन उद्देश्यका लागि राज्यको ठूलो लगानी गरी बनाइएको हो, त्यो नै हुन नसकेपछि यसको औचित्य नै छैन्।’ यसलाई व्यवस्थित गरी वृक्षरोपण, रमणीय वातावरण बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो सोच रहेको वडाध्यक्ष पण्डितको कथन छ।
यता लहान नगरपालिकाका प्रमुख मुनी साहले फोहरमैला व्यवस्थापन केन्द्रमा फोहर फ्याक्न नदिने विभिन्न प्रकारको षड्यन्त्र हुँदै आएकाले त्यसलाई व्यवस्थित गर्न नसकिएको बताएका छन्। उनले फोहरमैलालाई व्यवस्थित गरी फोहरबाट मल उत्पादन गर्ने योजनालाई सफल बनाउन नगरपालिकाले योजना बनाइरहेको बताएका छन। रासस