लुम्बिनी – विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मङ्सिर मसान्तसम्मर एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ। उक्त युनिट बराबर रु १७ करोड हुन्छ। प्रतिमहिना सवा तीन करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ।
केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मङ्सिरमा १५ लाख युनिट पुगेको छ। चुहावटमा प्राविधिकतर्फ ५० र अप्राविधिकतर्फ ५० प्रतिशत हुने गरेको छ। प्राविधिक भन्नाले तारमा करेन्ट बगेर हुने र अप्राविधिक भन्नाले हुकिङ, मिटर बाइपास, डिमान्ड चुहावट हो।
चालू वर्षमा बाइपास मिटर गरेका ४५ र हुकिङमा सङ्लग्न पाँच गरी ५० जनालाई कारवाही गरिएको झाले बताए। उनले भने, चुहावट गर्ने घटेका छन्, गत मङ्सिरसम्म ५० जनालाई कारवाही गरी रु १२ लाख असुली भएको छ।’ भैरहवा, लुम्बिनी र धकधई क्षेत्रमा मासिक आयात युनिट दुई करोड ५६ लाख १२ हजार छ। बिक्री युनिट दुई करोड ३९ लाख ८९ हजार छ। केन्द्रमार्फत ७२ हजार ग्राहक लाभान्वित छन्। (रासस)